द टेलिग्राफको २०११ मा ‘गुमाएको हिरो’मा परे भिसी तुलबहादुर पुन

Read Time:4 Minute, 49 Second

Rajyasatta Exclusive:- बेलायतको चर्चित पत्रिका द टेलिग्राफले सन् २०११ मा गुमाएका हिरोहरुको सूचिमा भिक्टोरिया क्रस भिसि तुलबहादुर पुन मगरलाई एक नम्बरमा राखेको छ । १९४४ मा बर्माको चिण्डिट अभियान देखाएको बहादुरीका लागि पुन मगरलाई भिसी प्रदान गरिएको थियो ।

द देलिग्राफले २० डिसेम्बर २०११ को अनलाइन संस्करणमा राखेको २०११ मा गुमाएका पाँच हिरोको सूचिमा भीसी तुलबहादुर पुन मगर, सर पेट्रीक लेग फरमर, हेनरी मेटलम्यान, न्यान्सी वेक र फ्रेडि्रक कारडोज छन् । न्यान्सी वाहेक सबै हिरो पुरुष हुन । जीवनका सारा उर्जा बेलायतका लागि खर्चेर पनि त्यहाँको सरकारले वेवास्ता गरेको समाचार प्रकाशित भएपछि बेलायत सरकारले बाध्य भएर पुन मगरलाई हेर्नु परेको थियो ।
द टेलिग्राफमा प्रकाशित हिरोहरुको विषयमा पढ्न http://www.telegraph.co.uk/news/obituaries/8950882/Military-Obituaries-Heroes-we-lost-in-2011.html#disqus_thread यहाँ क्लिक गर्नुहोस् ।

पुन मगरको सम्झनामा आनन्द पि राई लेख्छन्:-
बर्माको मोगाउङ क्षेत्रमा गठबन्धन सेनालाई दरिलो बनाउने र भारत हान्ने तयारी गरिरहेको जापानी सेनालाई पछाडि हटाउने उद्देश्यले मार्च १९४४ मा सञ्चालित ९००० सैनिक सम्मिलित दोस्रो चिन्दित अप्रेशनमा छैटौं गोर्खा राइफल्स पनि संलग्न थियो। तर, जापानीहरूको कठोर प्रतिवादले चार महिनामा चिन्दित सैनिकको सङ्ख्या नराम्ररी घट्यो। जापानीहरूलाई मोगाउङबाट लघार्न त के, उनीहरूको सुरक्षा लाइनमा ढिम्किन पनि गाह्रो भयो।

यहीबीचमा २३ जून १९४४ को राति रेल्वेपुलको जापानी पोष्टमा आक्रमण गर्ने आदेश पायो, छैटौं गोर्खा राइफल्सले। ब्रिटिस अभिनेतृ जोआना लुम्लेका पिता मेजर जेम्स रुदरफोर्ड लुम्लेको कमाण्डमा रहेको टोलीले आक्रमण गर्नासाथ रेड हाउस भनिने पोष्टबाट आएको जवाफले मानिसहरूलाई सोत्तर बनाउन थाल्यो। पूर्वमा उज्यालो हुँदासम्म सिपाही तुलबहादुर पुनको सेक्सनमा रहेका गोर्खालीहरू लगभग सकिएका थिए।

नभाग्ने हो भने मृत्यु निश्चित भएको यो बेला ब्रेनगन सम्हालेका पुन गोलीको वर्षाबीच घुँडासम्म आउने हिलो, ढलेका रूख र काँडेतार छिचोल्दै बिरालोको चालमा रेड हाउसमा पुगे जहाँ आठ जापानी निरन्तर मेसिनगनको घोडी दबाइरहेका थिए। तिनलाई तत्काल सिध्याएका पुनले त्यही मेसिनगनबाट कभर फायर नखोलेको भए छैटौं गोर्खा राइफल्सको मिसन सफल हुनु त के कोही जीवित फर्कन सक्ने थिएन।

पछि ३ मार्च १९४५ मा दिल्लीको लालकिल्लामा आयोजित समारोहमा पुनलाई भाइसराय तथा फिल्डमार्सल वाभेलले बेलायतको सर्वोच्च युद्धपदक भिक्टोरिया क्रस (भिसी)ले सुशोभित गरे। त्यसपछि मलाया हुँदै हङकङबाट मे १९५९ मा मानार्थ लेफ्िटनेन्टका रूपमा सेवा निवृत्त भिसी पुन सन् २००७ मा चर्चामा आए आँखा उपचारका लागि बेलायत जान खोज्दा भिसा नपाएपछि। यो समाचारले हल्लीखल्ली मच्चाएपछि उनी ससम्मान लण्डन झ्िकाइए।

यसरी, पूर्वी लण्डनको हन्सलोमा स्वतन्त्र नागरिकको सम्मानसाथ बसिरहेका ९२ वर्षीय भिसी पुन कुल पूजा र विद्यालय उद्घाटनका लागि नेपाल आएको बेला ७ वैशाखमा आफ्नै जन्मस्थल म्याग्दीको बेगखोला, तिप्ल्याङमा दिवङ्गत भए। पुनका श्रीमती, दुई छोरा र आठ छोरी छन्। १३ गोर्खा भिसीमा अब रामबहादुर लिम्बु मात्र एक्ला बाँकी रहे।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %