मनग्ये धन सम्पत्ति भएर पनि आफ्नो जातीय पहिचान गुम्न लागेको भन्दै मारवाडी समुदायका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय मारवाडी परिषद् र नेपाल राष्ट्रिय मारवाडी समितिद्वारा पुस ३ गते विराटगनरमा आयोजित कार्यक्रममा उनीहरुले यस्तो चिन्ता जाहेर गरेका हुन ।
जनता दल युनाइटेडका अध्यक्ष समेत रहेका सभासद डा. विश्वनाथ अग्रवालले लोकतन्त्र आइसक्दा पनि मारवाडी समुदायमाथि भएको थिचोमिचो बन्द नभएको भन्दै पहिचानको राजनीति अनिवार्य भएको उल्लेख गरे । आफूहरु धनी भए पनि समुदायगत अधिकार नहुँदा चारैतिरबाट शोषणको शिकार हुनु परेको अग्रवालको भनाई थियो ।
राजनीतिमा मारवाडी समाजको सहभागिता चुनौती एवम् समाधान विषयक विचार गोष्ठीमा बोल्दै सभासद तथा नव नेपाल निर्माण पार्टीका राष्ट्रिय अध्यक्ष तथा सभासद मोती दुगडले मारवाडी समुदायको उत्थान र राज्यमा पहुँचका लागि मारवाडी समुदाय एक हुनुपर्ने धारणा राखे । कार्यक्रममा मारवाडी राजनीतिक चेतना मचका अध्यक्ष भीमराज नौलखाको सभापतित्वमा भएको उक्त कार्यक्रममा मचका केन्द्रीय सदस्य विजय अग्रबाल, ताराचन्द खेतान, हरिश्चन्द्र शर्मा, श्यामलाल शर्मा, मनोज अग्रबाल, विजयकुमार शर्मा, विमल अग्रबाल, रतनलाल टेमानी, मङ्गलचन्द्र अग्रबाल, मासचन्द्र िसंघानिया, जगदीशप्रसाद अटललगायतका वक्ताले मारवाडी समुदायको हकहितका लागि जातीय राजनीति अनिवार्य भएको धारणा राखे । नेपाल राष्ट्रिय मारवाडी राजनीतिक माचका राष्ट्रिय संयोजक हरिलाल अग्रबालले मारवाडी समुदायको योगदान विषयक कार्यपत्र प्रस्तुत गरेको कार्यक्रमका अन्य सहभागीहरुले मान्छे धनी हुनु भन्दा पनि जातीय अधिकार पाउनु महत्वपूर्ण भएको बताएका थिए ।
