सशस्त्र प्रहरीले थरुहट तराई पार्टी नेपालका कार्यकर्ता बताउने चारजनालाई सार्वजनिक गरेको छ । संविधानसभाबाट संविधान बनाएर आदिवारी जनजाति दलितलाई अधिकार दिनु हुँदैन भन्ने माग रहेको थरुहट पार्टी कैलाली क्षेत्र नम्बर ५ का इन्चार्ज खुसीराम चौधरीलगायतका चार हतियारधारीलाई मंसिर १७ गते सार्वजनिक गरिएको हो ।
सशस्त्रको गस्ती टोलीलाई पेस्तोल ताकेपछि शुक्रबार राति पूर्व-पश्चिम राजमार्गअन्तर्गत चौमालाको गप्काबाट चौमाला-३ का ३९ वर्षीय खुसीराम, उनका छोरा १६ वर्षीय अर्जुन, भाइ ४० वर्षीय कुलराम र ज्वाइँ २६ वर्षीय अंगारु चौधरीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल बडिमालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गजेन्द्र शाहीको दाबी छ ।
जघन्य अपराध नियन्त्रण बल अन्तर्गत शङ्कर देउवाको नेतृत्वमा गएको गस्ती टोलीले से१प ४७५७ र से२प १६८० नम्बरको दुई मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट गोली लोडेड घरेलु पेस्तोल तथा चन्दा असुल गर्ने गैरकानुनी रुपमा ढुङ्गा गिट्टी र बालुवाको कर उठाउने तथा सदस्यता वितरण गर्ने रसिद बरामद गरिएको प्रहरीले बताएको छ ।
थरुहट तराई पार्टी नेपाल पूर्व शाही मन्त्री गोपाल दहित र लक्ष्मण थारु लगायतले नेतृत्व गरेका छन् । निर्वाचन आयोगबाट दलको मान्यता पाईनसकेको यो पार्टीको माग कमल थापा नेतृत्वको राप्रपा नेपालको भन्दा एक रक्तिभर फरक छैन ।
