
किरात येले संवत्लाई संविधानमा सूचिकृत गर्नु पर्ने सम्बन्धित समुदायले माग गरेका छन् । किरात येले संवत् अध्ययन समन्वय समितिले कार्तिक २९ गते राजधानीमा आयोजना गरेको ‘किरात येले संवत् सूचिकरण अभियान’ विषयक समारोहमा उक्त विचार व्यक्त गरेका हुन् ।
समितिका संयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले किरात समुदायमा प्रचलन रहेको किरात येले संवत्लाई संविधान सुचिकृत गर्नु पर्ने बताए । ‘सरकारले देशमा प्रचलनमा रहेका संवत्हरुको अध्ययन समिति गठन गरेको सन्र्दभमा किराती समाजमा प्रचलनमा रहेको किरात येले संवत्लाई नयाँ संविधानमा सूचिकृत गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं’ काइँलाले भने । किरात राजा यलम्बरको स्मृतिमा यो संवत् प्रचलनमा ल्याइएको हो । समाजमा किरात येले संवत् ५०७१ प्रचलनमा रहेको छ भने इतिहासविद्ले ३०९१ मात्र हुनसक्ने प्रमाण पेश गरेका छन् ।
अर्थ राज्यमन्त्री हरिराज खेवा लिम्बूले संविधान सभाको संवैधानिक समितिमा नेपालमा चलेका संवत्हरुबारे छलफल भइरहेको बताएका छन् । ‘संवैधानिक समितिमा मुलुकमा प्रचलित संवत्हरुलाई संविधानमा सूचिकृत गर्ने/नगर्ने भन्नेबारे छलफल गर्दैछ’ जाति, भाषा संस्कृति पहिचानका प्रमुख विषय भएको उल्लेख गर्दै उनले भने ‘किरात येले संवत्लाई कम्तिमा पूर्वााचलका भावी तीनवटा संघराज्यमा वैधानिक रुपमा लागू सकिनेछ ।’
उक्त समारोहमा किरात याक्खा छुम्मा किरात सुनुवार सेवा समाज किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाका प्रतिनिधिलगायतले येले संवत् संविधानमा सूचिकृत गर्न माग गरेका थिए । यायोक्खाका अध्यक्ष सहप्राध्यापक चतुरभक्त राई प्राज्ञ अमर तुम्याहाङलगायतले विचार व्यक्त गरेका थिए ।
