लामो समयदेखि हङकङस्थित नेपालीहरूका विषयमा रिपोर्टिङ गर्दै आएका हिमाल खबरपत्रिका का विशेष सम्वाददाता डम्बरकृष्ण श्रेष्ठले हङकङका नेपाली नामक डकुमेण्ट्री बनाएका छन्। डकुमेण्ट्रीमा सामान्य काम गर्नेदेखि स्वतन्त्र व्यवसाय र क्षेत्रमा पहिचान बनाएका नेपालीहरूको जीवनको सङ्घर्ष, सफलता, जीवनशैली र नेपालप्रतिको माया समेटिएको छ। डकुमेण्ट्रीमा रोजगारसँगै संघसंस्था सञ्चालन र सामाजिक कार्यदेखि कला-साहित्य, पत्रकारिता, खेलकुद र व्यापार व्यवसायसम्मको क्षेत्रमा फैलिएको नेपाली सक्रियता समेटिएको छ। स्कुले किशोर किशोरी, लागूऔषधमा फँसेका युवा, रात्रि जीवन र फेशन मोडलिङमा रमाइरहेका तन्नेरीहरूका अनुभव समेत डकुमेण्ट्रीमा छ।
९० मिनेटको डकुमेण्ट्रीमा १२ घण्टा काम गरेर पनि नेपाली पहिचानका लागि एकजुट भएर आफ्नोपन, भाषा-संस्कृति र पहिचानका लागि गरिरहेको सङ्घर्षका कथा समेटिएका छन्। नेपालबाट मासिक एक डलर अभियान लिएर पुगेका महाबीर पुनलाई हङकङका नेपालीहरूले गरेको सहयोग र साङ्गीतिक तथा हास्य प्रहसन लिएर पुगेका नेपाली कलाकारहरूले पाएको साथ पनि यो डकुमेन्ट्रीमा छ। मातृदीप राईको सह निर्माण र छायाङ्कन रहेको यस डकुमेण्ट्रीको सम्पादन आलोक शर्माले गरेका हुन्। यो डकुमेन्ट्री मूलतः एउटा नेपाली पत्रकारको आँखाले हेरेको हङकङका नेपालीहरूको चलायमान तस्बिर हो। यो डकुमेण्ट्री नेपाल पत्रकार महासंघ हङकङ र एभरेष्ट मिडियाले यही दशैँ-तिहारको अवसरमा प्रदर्शन गर्दैछ।
सन् १८४१ देखि १९९७ सम्म बेलायतको अधीनमा रहेको हङकङमा बेलायती शासनको उत्तरार्द्धमा नेपालीको आगमन बाक्लिन पुगेको हो। ८० लाख जनसङ्ख्या र विश्वकै सबैभन्दा बढी जनघनत्व भएको शहर हङकङमा करिब ३५ हजार नेपाली छन्।
इन्द्र श्रेष्ठ/हिमाल
