आदिवासी जनजातिको नाममा खुलेका केही राजनीतिक पार्टी समेत कमल थापाकै भाषामा संविधानसभाको विरोधमा उत्रेका छन् । आफूलाई जनजाति नेता भन्न रुचाउने लक्ष्मण थारुको थरुहट तराई पार्टी नेपाल, नेपाल देशभक्त पार्टी, तमुवान् राष्ट्रिय परिषद्, राष्ट्रिय तामाङ एकता मच, खसान राष्ट्रिय परिषद् र नेपाल देशभक्त राष्ट्रिय युवा बलले चितवनको भरतपुरमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरेर एक मात्र निर्वाचित निकाय संविधानसभाको विघटनको माग गरेको हो ।
संविधानसभामा रहेका ६०१ मध्ये कमल थापा नेतृत्वको राप्रपा नेपालका ४ सभासद वाहेक सबै संविधानसभाबाटै नयाँ संविधान निर्माण हुनुपर्ने अडानमा छन् । पत्रकार सम्मेलनमा थरुहट तराई पार्टीका अध्यक्ष थारुले संविधानसभाको समय तीन पटकसम्म थप गर्दा समेत संविधान निर्माण हुन नसकेको भन्दै सर्वपक्षीय सर्वदलीय र सर्वजातीय गोलमेच सम्मेलनको माग गरे । थरुहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारु भएपनि यो पार्टीको खास हर्ताकर्ता शाहीकालीन मन्त्री गोपाल दहित हुन ।
अहिलेसम्मकै सबैभन्दा समावेशी जननिर्वाचित निकाय संविधानसभालाई राजवादी र दक्षिणपन्थीले वाहेक तत्काल विघटनको माग गरेका छैनन् ।
