राष्ट्रिय सम्वत् ११३२ न्हूदँ धुमधामसँग मनाउन न्हूदँ समारोह समिति गठन भएको छ । समिति कार्तिक १ गते नेपाल भाषा मंका खलःका अध्यक्ष पद्मरत्न तुलाधरको संयोजकत्वमा गठन भएको हो ।
संयोजन समितिमा मंका खलका नरेशवीर शाक्य, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार, नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. केशवमान शाक्य, नेवाः जागरण मचका अध्यक्ष सुजिव वज्राचार्य, ज्यापु महागुथी काठमाडौँका अध्यक्ष मोहनकृष्ण डङ्गोल, उद्योगपति लक्ष्मीदास मानन्धर, एकीकृत नेवाः राष्ट्रिय मुक्तिमोर्चा कीर्तिपुरका अध्यक्ष पाचललाल महर्जन, मध्यपुर थिमी भक्तपुरका कृष्णबहादुर धजू, नेपालभाषा मंका खल ललितपुरका किरण शाक्य र महिला प्रतिनिधि सरिता महर्जन सदस्य रहेका छन् ।
मंका खलः ले काठमाडाँैमा आयोजना गरेको भेलामा अधिकांश सहभागीहरुले देशकै नामबाट प्रचलित राष्ट्रिय मान्यताप्राप्त नेपाल सम्वत्लाई विविध कार्यक्रमका साथ भव्यरुपमा मनाउन राज्यस्तरबाटै समिति गठन गर्नुपर्नेमा जोड दिइएको मंका खलःका अध्यक्ष पद्मरत्न तुलाधरले जानकारी दिए ।
