उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले मङ्सिर १४ भित्र नयाँ संविधानको मस्यौदा तयार हुने बताएका छन् । शिल्पकार समाज नेपालद्वारा असोज २४ गते भक्तपुरमा आयोजित विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठले सेना समायोजन र संविधान निर्माणको पहिलो मस्यौदा ल्याइने काम मंसिर १४ भित्र सक्ने बताएका हुन ।
कार्यक्रममा एमाओवादी उपाध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले १४ मंसिर भित्र संविधान बन्न नदिनेहरु सबै प्रतिगामी र घोर दक्षिणपन्थी भएको उल्लेख गरे । वर्तमान सरकारमा नेपाली कांग्रेस र एमाले समेत सहभागी भई राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा शिल्पकार समाजबाट पहिलो पटक विद्यावारिधि गरेका लक्ष्मीभक्त शिल्पकार तथा एसएलसी परीक्षामा शिल्पकार समुदायबाट उत्तीर्ण हुने ६६ जनालाई श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
