संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले राजनीतिक दलका नेता तथा सभासदलाई विदेश नगई राजधानीमा नै रहेर दसँै तिहार छठपर्व र सार्वजनिक विदाका दिनहरुमा समेत शान्ति र संविधानमा केन्द्रित रहन आग्रह गरेका छन् । विजयादशमी शुभ दीपावली तथा छठपर्वको उपलक्ष्यमा संसदीय मामिला पत्रकार समाजले असोज १३ गते काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेम्वाङ्गले यस्तो आग्रह गरेका हुन ।
अध्यक्ष नेम्वाङ्गले संवैधानिक समिति र सेना समायोजन विशेष समितिमा रहेका नेता तथा सभासदलाई विदा नलिई निरन्तर काम गर्न सुझाएका हुन । शान्ति र संविधानको विषय नेताहरुले दिँदै आएको प्रतिबद्धता पुरा गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति र संविधानका लागि दलहरुबीच सहमति खेाज्नु पर्नेमा सत्ताको लागि सहमति खोज्ने प्रयास हँुदा मुलुकको प्राथमिकताको रुपमा रहेको संविधान लेखन र शान्ति प्रकि्रया ओझेलमा परेको उल्लेख गरे । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले सहमतिको विकल्प नरहेको धारणा राखे । प्रधानमन्त्रीलाई सुशासनमा भन्दा शान्ति र संविधानलाई केन्द्रमा राखेर काम गर्नु पर्ने पाण्डेले उल्लेख गरे ।
संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले शान्ति र संविधानका लागि एउटै साझा उद्देश्यका साथ दलहरु अघि बढ्नु पर्ने धारणा राखे । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले जनतासामु गरेको बाचालाई इमान्दारीका साथ पूरा गर्न नेताहरुलाई सुझाव दिए । संसदिया मामिला पत्रकार समाजका अध्यक्ष प्रकाश गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव सुशिल पन्तले सन्चालन गरेका थिए । समाजका विशिष्ठ सदस्य खगेन्द्र पन्तले स्वागत भाषण गरेका थिए ।
संविधानसभा र संसदमा रिर्पोटिङ्ग गर्ने पत्रकारहरुको साझा सस्थाको रुपमा रहेको संसदिय मामिला पत्रकार समाज २०५८ सालमा स्थापना भएको थियो ।
