झुक्किएर छोइएको निहुमा नुवाकोटको कथित दलित परिवारमाथि निर्घात कुटपिट भएको छ । नुवाकोट जिल्ला कल्याणपुर गाविस-७ कागुनेका रोजी परियारका पाँच सदस्य गैर दलितबाट मरणासन्न हुने गरि कुटिएका हुन । रोजी सहति सासू सुकुलक्ष्मी नेपाली छोरीहरु सङ्गीता, सिर्जना र सुजनालाई छिमेकी नारायण खड्का, एशोदा खड्का, विकास खड्का, दीपक खड्का र विष्णुमाया खड्का रिमालले मरणासन्न हुनेगरी कुटपिट गरेका हुन ।
कुट्नका लागि हात हतियार सहित परियारको घरमा खड्का छापामार शैलीमा आएको प्रत्यक्ष दर्शीले बताएका छन् । खड्का परिवारले रोजीको घरमा रहेका सबैलाई कुटपिट मात्रै गरेनन् भए भरका समान फुटाली दिए र कतिपय महँगा सामान लुटेर पनि लगे । बस चढ्दा सुजना परिवारले झुक्किएर विष्णुमाया खड्का रिमालको खुट्टामा छोइएको निहुँमा परिवारमाथि नै आक्रमण भएको हो । सृजना जिङ्गरे उमावि कल्याणपुरमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन ।
रोजीले आफूलाई दलित भन्दै अपमान गरिएको र मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीमा उजुरी दिए पनि दोषीमाथि कारवाही हुनेमा आशंकै छ । किनभने दलितको पक्षमा न मिडियाले आवाज उठाउँछ न प्रहरी प्रशासनले नै ।
