महाभूकम्पको त्रासदी

Read Time:19 Minute, 49 Second

भोलि नै या अर्को पाँच वर्षमा कुनै न कुनै दिन काठमाडौं हिरोसिमा जस्तै ध्वस्त हुनसक्छ, अणुबमको विष्फोटले हैन आठ रिख्टर भन्दा बढी शक्तिशाली महाभूकम्पले।

कुन्द दीक्षित

 

 

वैज्ञानिकहरूको अनुमानमा काठमाडौंमा आठ रिख्टर भन्दा ठूलो भुइँचालो गएमा कमसेकम एक लाख उपत्यकावासीको ज्यान जानेछ, दुईलाख भन्दा बढीको अङ्गभङ्ग हुनेछ र १५ लाख घरबारविहीन हुनेछन्। भूकम्पपछि काठमाडौं जोड्ने धेरैजसो राजमार्ग र पुल पनि ध्वस्त हुने भएकाले यी १५ लाख मानिस काठमाडौंबाट हिँडेरै भागाभाग गर्नेछन्- पहिलेको भीमफेदीको बाटोहुँदै तराई वा अन्य पहाडी जिल्लातिर। राजधानीको विमानस्थलको धावनमार्गमा चिरा परेर हवाई जहाज उत्रन र राहत आउन सक्ने छैनन्। महिनौंसम्म मुलुक, समुदाय, परिवार र व्यक्तिहरू सबैले आफैंले आफैंलाई मद्दत गर्नुपर्नेछ।

भूकम्पविद्हरूले ११ बजे बिहान अथवा सात बजे साँझ् जाने भुइँचालोबाट सबैभन्दा बढी क्षति हुने अनुमान गरेका छन्। १२ वर्षअघि भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) ले काठमाडौं उपत्यकाका ४०० विद्यालयमा गरेको एक अध्ययनका अनुसार १९९० सालको जत्रो भुइँचालो आएमा त्यसबाट काठमाडौं उपत्यकाका ७७ प्रतिशत स्कूल भत्कने छन्। पहिलो झ्ट्कामै २९ हजारदेखि ४३ हजार शिक्षक-विद्यार्थी कक्षाकोठामै पुुरिएर मर्ने र अरू एक लाख घाइते हुनेछन्। घाइतेहरूलाई अस्पताल लैजान सकिँदैन, किनभने धेरैजसो अस्पताल पनि ध्वस्त भइसकेका हुनेछन्।

सो अध्ययनले आठ रिख्टर स्केलको भुइँचालोले त्रिवि शिक्षण अस्पताल वा क्षेत्रपाटी निःशुल्क चिकित्सालयजस्ता केही अस्पतालबाहेक उपत्यकाका ८० प्रतिशत अस्पताल ध्वस्त हुने देखाएको छ। त्यस्तो वेला एम्बुलेन्स पनि थोरै मात्र सबुत रहनेछन्, तिनैलाई चलाउन पनि सडक अवरुद्ध भइसकेको हुनेछ। अनुमानित सात लाखभन्दा बढी घाइतेको उपचार खुला ठाउँमा राखिने सीमित आपतकालीन चिकित्सा सुविधाकै भरमा गर्नुपर्ने हुन्छ।

मीनरत्न बज्राचार्य
राजधानीमा बढ्दो यस्ता सलाईबट्टे घर भूकम्पको वेला अति जोखिममा पर्दछन्।

एनसेटको अध्ययनपछि उपत्यकामा विद्यालयहरू दोब्बर बढेका छन्। तीमध्ये २५ प्रतिशत पूरै भत्काएर पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् भने ५० प्रतिशतलाई भूकम्प प्रतिरोधी रेट्रोफिटिङ गर्नुपर्नेछ। नेपाल जोखिम न्यूनीकरण समूहले तत्काल गर्नुपर्ने पूर्वतयारीका प्रमुख काममध्ये विद्यालय र अस्पतालहरूको रेट्रोफिटिङलाई पनि राखेको छ,जसका लागि पाँच करोड अमेरिकी डलर लाग्नेछ। भुइँचालोका वेला विद्यालयका कक्षाकोठा सुरक्षित रहे तिनले समुदायका मानिसहरूलाई समेत आश्रय दिन्छन्।

सात हजार विद्यालय भत्कँदा १७ हजार स्कूले बालबालिकाको ज्यान गएको सन् २००५ को पाकिस्तानको भुइँचालोको क्षतिले नै यहाँ के हुनसक्छ भनेर देखाएको छ। सन् २००८ मा गएको चीनको सिचुवान भूकम्पमा पनि असुरक्षित विद्यालयका कारण सयौं बालबालिका मरेका थिए। एनसेटले अघिल्लो वर्ष लमजुङ र नवलपरासीमा गरेको अध्ययनले त्यहाँका विद्यालय भवन काठमाडौंका भन्दा असुरक्षित देखाएको छ। सात रिख्टरको भुइँचालो जाँदा यी दुई जिल्लामा मात्रै ७५ प्रतिशत विद्यालय भवन ध्वस्त हुने, १४ हजार विद्यार्थी र शिक्षक मारिने तथा एक लाख घाइते हुने अवस्था छ।

राजधानीका अधिकांश घर भत्कने हुनाले खाना खाने वेला साँझ् सात बजेतिर भुइँचालो आएमा धेरै मानिस पुरिने डर हुन्छ। अझ् डरलाग्दो कुरा, भान्साको ग्याँस सिलिण्डर पड्केर वा मट्टीतेल र दाउरा सल्केर शहरभरि आगलागी हुनेछ। पश्चिमबाट हावा लागेको वेला परे आगो झ्न् बढी फैलिनेछ। बर्खायाममा भूकम्प गयो भने काठमाडौंको जमिनमुनिबाट पानी निस्किनेछ। खासगरी थापाथली, टेकू, बल्खु, पशुपति र गोकर्ण इलाकाका धेरै घर ढल्नेछन्।

कुल ७२० जनाको मृत्यु भएको २०४५ सालको ६ रिख्टरको भुइँचालोको केन्द्रबिन्दु काठमाडौंबाट २०० किमी पूर्व उदयपुरमा भए पनि भक्तपुरमा समेत घरहरू भत्केका र १२ जना मरेका थिए। काठमाडौंको माटो पहिलेको तालमुनि भएकाले यसले भूकम्पको झ्ट्कालाई अझ् बढाउँछ, घरहरू बेस्सरी थर्काउँछ र हल्लाउँछ। त्यसैले पनि नेपालको तराई र काठमाडौं उपत्यकामा घर बनाउँदा अरू ठाउँमा भन्दा बढी भूकम्प प्रतिरोधक प्रविधि उपयोग गर्नुपर्छ। तर काठमाडौंका पुराना र नयाँ घर, आवास र अपार्टमेन्ट हेर्दै ६ रिख्टरको झ्ट्कामै ढल्ने खालका छन्। जोखिमपूर्ण भवनहरूको कङ्क्रिट फ्रेम भूकम्पको थर्काइ थाम्न नसक्ने प्रकृतिका छन्। बिम बाहेकका एक सल इटाका गारो छडहरू छिराएर बलियो गरी नबनाइने हुनाले सजिलै भत्कन्छन्।

सन् १९९४ मा नेपालको भवन निर्माण संहिता बनाउने न्युजिल्याण्डका रिचार्ड सार्पका अनुसार निर्माण क्षेत्रमा प्रयोग हुने कङ्क्रिट र ईंटको गलत डिजाइन, कमजोर जग, कमसल सिमेन्ट र छडले गर्दा घरहरू जोखिमपूर्ण बनेका हुन्। काठमाडौंमा भवन निर्माण हुन अनुपयुक्त ठाउँमा पार्क अथवा ग्रिनबेल्ट बनाउनुको साटो धमाधम घर बनाइएका छन्; जस्तै बौद्ध-जोरपाटीदेखि दक्षिण बागमती फाँटको नयाँवस्ती।

काठमाडौंमा महाभूकम्पबाट हुने धनजनको क्षति रोक्न सबैभन्दा पहिले जनचेतना बढाउनुपर्छ। त्यसपछि भवन निर्माण र शहरीकरणको क्षेत्र निर्धारणसम्बन्धी नियम बनाई कडिकडाउका साथ पालना गर्नु, गराउनु पर्छ। बनिसकेका स्कूल, अस्पताल र सार्वजनिक भवनलाई भूकम्प प्रतिरोधी रेट्रोफिट गर्न महँगो त हुन्छ, तर हजारौं विद्यार्थीको ज्यान जोगाउने र अस्पतालहरूलाई सुरक्षित बनाउने हो भने अरू उपाय छैन। एनसेटका आमोदमणि दीक्षित भन्छन्, “हामीलाई के गर्नुपर्छ थाहा छ, कसरी गर्नुपर्छ पनि थाहा छ। खाली खाँचो छ, दह्रो नियमकानुन र स्रोतसाधनको।”

नेपालका दातृसंस्था र मित्रराष्ट्रहरू मिलेर खडा गरेका नेपाल जोखिम न्यूनीकरण समूहले १३ करोड अमेरिकी डलरको लागतमा उपत्यकाका स्कूल र अस्पताललाई रेट्रोफिट गर्ने र सरकार, जिल्ला र नगरपालिकाहरूलाई भूकम्पको पूर्वतयारीमा मद्दत गर्ने योजना बनाएको छ। स्कूलहरू सुरक्षित बनाउन एसियाली विकास ब्याङ्कले लगानी गर्दैछ भने अस्पतालहरूलाई रेट्रोफिट गर्न विश्व स्वास्थ्य सङ्गठनले अग्रसरता देखाएको छ। दाताहरूको संयोजन गरिरहेका संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि रोवर्ट पाइपर भन्छन्, “भत्केको घरबाट घाइतेको उद्धार गर्न कठिन हुन्छ, त्यसैले हाम्रो उद्देश्य भवन सकेसम्म नभत्किने अथवा भत्के पनि मानिसहरू नपुरिने गरेर बनाउनुपर्छ भन्ने हो।”

भूकम्प गइसकेपछि घाइतेको उद्धार, घरबारविहीनका लागि वास, लुगाफाटो, खानेकुरा र पानीको व्यवस्था ठूलै चुनौती हुनेछ― बाहिरबाट राहत नआउने हो भने राज्य र समाजले आफैं धान्नुपर्ने। ९० सालको भुइँचालोपछि काठमाडौंका धेरै नगरवासीहरू हप्तौंसम्म टुँडिखेलमा बसेका थिए। अहिले टुँडिखेललाई सेनाले अतिक्रमण गरेको र अग्ला-अग्ला बार लाएर छेकेको छ। त्यतिवेला काठमाडौं उपत्यकाको जनसङ्ख्या २ लाख ५० हजार थियो भने अहिले त्यसको १० गुणा बढी छ। १५ लाख घरबारविहीनलाई कहाँ लगेर राख्ने, कहाँबाट पानी र खाना पुर्‍याउने? त्यसपछि बढ्ने रोगको प्रकोप, शान्ति सुरक्षाको खतरा, खाद्यान्न अभावको कसरी सामना गर्ने? अझ् अहिलेजस्तै सरकारविहीन र अस्थिर अवस्था भयो भने के होला?

अनामनगरको पर्खालभित्र सिंहदरबार परिसरमा रातो छाना भएको एउटा सानो घर छ। भित्र स्याटेलाइट फोन, इन्टरनेट, सञ्चार सेट र सभाकक्ष छन्। यो हो― गृहमन्त्रालयको नयाँ राष्ट्रिय आपतकालीन संयोजन केन्द्र जुन ठूलै भूकम्प आए पनि भत्कने छैन। महाभूकम्पपछि उद्धार र राहत कार्यको संयोजन यही कोठाबाट हुनेछ। प्रकोप व्यवस्थापन विभागका रामेश्वर दङ्गाल भन्छन्, “भूकम्प जस्तो प्रकोपपछि सबैभन्दा मुख्य कुरा सञ्चार र संयोजनको हुन्छ र यसै केन्द्रबाट राज्यले जनतालाई राहत पुर्‍याउने र मद्दत गर्नेछ।”

उता भैंसेपाटीको एनसेट भवनमा नेपालमा जाने भूकम्पको जानकारी दिन र राहत संयोजन गर्न बाहिरी संसारसँग सम्पर्कको लागि आपतकालीन सूचना कक्ष स्थापना गरिएको छ। नौ रिख्टरसम्मको भूकम्पलाई थाम्न सक्ने सो केन्द्रमा महिनौं पुग्ने जेनेरेटर डिजल, पानी, खानेकुरा, औषधि र उपचार सामग्री भण्डार गरिएको छ। “भूकम्पले मान्छे मार्दैन, असुरक्षित घर र हेलचेक्र्याईंले मार्छ”, आमोद दीक्षित भन्छन्, “तर भुइँचालो गइसकेपछि घाइते र विस्थापितहरूलाई राहतको संयोजन मुख्य कुरा हुन्छ।”

पुनर्निर्माण सम्भव छः १९९० सालको भूकम्पले ध्वस्त बनाएको र हालको पाटन दरबार क्षेत्र।

नेपालमा भूकम्पीय जोखिमलाई सामना गर्न कामै नभएको होइन। नेपाली भूकम्पविद्हरू अहिले संसारभरि पुगेका छन्। इरान र पाकिस्तानमा भूकम्प गएपछि एनसेटले त्यहाँका सिकर्मीलाई तालिम दिएको थियो। नेपालको चुनौती अहिलेसम्म भएको जनचेतना, विद्यालयहरूको रेट्रोफिटिङ, निर्माण क्षेत्रमा भूकम्प प्रतिरक्षात्मक प्रविधि र तालिमलाई राष्ट्रियस्तरमा लैजानु हो।

मन्त्रिपरिषद्ले ढिलो गरेर भए पनि संसद्बाट प्रकोपको पूर्वतयारी सम्बन्धी ऐन पारित गराउँदैछ। यस ऐनले भारतमा जस्तै उच्चस्तरीय प्रकोप परिषद् र प्राधिकरणको स्थापना गर्ने तथा प्रकोप नियन्त्रण र राहतलाई गाविसस्तरसम्म विकेन्द्रित गर्नेछ। तर विज्ञहरू भन्छन्, ऐन पारित र परिषद् स्थापना हुँदैमा सबथोक हुने भए काठमाडौंमा ऐन, कानुन र मापदण्ड हुँदाहुँदै पनि यति धेरै जोखिमपूर्ण घरहरू बन्दैनथे होलान्। भूकम्प प्रतिरोधक घर बनाउन त्यति कठिन र खर्चिलो छैन। चेतना, ज्ञान र सीप भए पुग्छ।

हालसालै एनसेटले दिएको डकर्मी तालिमपछि प्रशिक्षकले एक सहभागीलाई झ्ोक्राएर बसेको देखेे। “के भयो तपाईंलाई?” भनेर सोध्दा उनले मलिन स्वरमा जवाफ दिए, “मैले जिन्दगीभर घर र विद्यालय होइन, चिहानहरू पो बनाएको रहेछु।” प्रशिक्षकले सम्झ्ाए, “हेर्नोस् ती स्कूलहरूलाई पनि बलियो बनाउन सकिन्छ। अब बनाउने स्कूल र घरहरू सुरक्षित किसिमले बनाउनुस्, तपाईंलाई पुण्य हुनेछ।”

एउटा घमाइलो दिन ललितपुर, सानेपाको टीका विद्याश्रममा अकस्मात् घन्टी बज्यो। यो कक्षा सकिएको घन्टी थिएन, त्यसैले विद्यार्थीहरू आ-आफ्नो झ्ोला टाउकामाथि बोकेर घसि्रँदै डेस्कमुनि छिरे। यो अभ्यास आगामी ठूलो भुइँचालोबाट धेरैभन्दा धेरै बालबालिकालाई बचाउने भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) को नयाँ अभियानको एउटा अंश थियो। “हामीलाई आशा छ, आपतका वेला विद्यार्थीहरूले यो अभ्यासलाई सम्झ्िनेछन्”, एनसेटका इञ्जिनियर निराकार जोशी भन्छन्। विद्यालयकी प्रिन्सिपल बाबा खड्काले थपिन्, “हो, यो अभ्यासबाट भुइँचालो जाँदा कत्ति नअत्तालिइकन के गर्नुपर्छ भन्ने कुरा सम्झ्िन सक्यौँ भने उपयोगी हुनेछ।”

यस्तो अभ्यास काठमाडौं उपत्यकाका ३०० स्कूलमा गराइएको थियो। भूकम्पको पूर्वतयारीबारे विद्यार्थीहरूलाई सचेत बनाएर एनसेटले तिनका बाबुआमालाई पनि यो सन्देश दिन खोजेको छ, आखिर उपत्यकाका अधिकांश घर पनि त जोखिममै छन्।


भुइँचालो कसरी जान्छ?

भारतीय उपमहाद्वीप र तिब्बती प्लेटको ठक्करले बनेका हाम्रा हिमालहरू अग्लिने क्रम जारी छ। सात करोड वर्ष अगाडि अफ्रिकाबाट उछिट्टिएर आएको भारतीय उपमहाद्वीपले एसियाको पीँधलाई अझ्ै ठेलिराखेकाले वर्षको पाँच सेन्टिमिटरले यो अझ्ै उत्तरतिर बढिराखेको छ। यो प्रक्रियामा जमिनमुनिको चट्टानका पत्रहरू बाँसझ्ैँ बाङ्गिन्छन् र धेरै बाङ्गिन नसकेपछि पिटिक्क भाँचिन्छन्, अनि सतहमा भूकम्प जान्छ।

१९९० सालको महाभूकम्प आठ रिख्टरको थियो र ५०-१०० वर्षको अन्तरालमा काठमाडौंमा त्यति ठूलो भुइँचालो गइरहेको इतिहासले देखाउँछ। वि.सं. १३१० को भुइँचालोमा राजा अभय मल्लसहित काठमाडौंका एक तिहाई बासिन्दा मारिएका थिए। काठमाडौंबाट पश्चिम नेपालमा केन्द्रबिन्दु भएको ठूलो भुइँचालो नगएको ३०० वर्षभन्दा बढी भइसकेकाले भविष्यमा यो भेगमा ठूलो भुइँचालो जाने वैज्ञानिक अनुमान छ।

काठमाडौं उपत्यका पहिले ठूलो ताल भएकाले यहाँको माटोको बनोटमा भूकम्पको धक्का बढ्ने, त्यसले जमिनलाई थलथल पारिदिने र यसले गर्दा बलियोसँग बनाइएका भवनहरू पनि ढल्ने डर हुन्छ। त्यसमाथि काठमाडौंका धेरैजसो घर, अफिस र अपार्टमेन्टहरू अझ्ै पनि भूकम्प प्रतिरोधी मापदण्डअनुसार नबनेकाले एकदमै जोखिमपूर्ण छन्।


झट्पट् झोला

क
एनसेटका आमोदमणि दीक्षित भूकम्प जानुअघि तयार राख्नुपर्ने झटपट झोला देखाउँदै।

• कम्तीमा तीन दिनलाई पुग्ने गरी लामो समय नबिग्रने खानेकुरा (चाउचाउ, बिस्कुट, आदि) को जोहो गर्ने।
• पानी सफा गर्ने ट्याबलेट र बोतलहरूमा पानी राख्ने।
• प्राथमिक उपचार सामग्री राख्ने।
• डोरी, पन्जा, ढ्ने, वाटर-प्रूफ ज्याकेट, रेडियो, टर्चबत्ती, आपतकालीन स्याटेलाइट र अन्य फोननम्बर राख्ने।
• घरनजिक भत्केर नपुरिने र सजिलै भेटिने ठाउँमा पिक, साभेल, खन्ती जस्ता खन्ने सामानको बन्दोवस्त गर्ने।
• परिवार छुट्टिनु परे, कहाँ भेट्ने पहिले नै निश्चित गर्ने।

भूकम्प गएपछि

• घरमा भए दौडँदै बाहिर ननिस्कने, माथिबाट खस्ने कौशी, छानाले पुर्न सक्छ।
• घरभित्रै टेबल, बिछ्यौना मुनि जस्ता सुरक्षित ठाउँमा लुक्ने अथवा भित्री गारोमा अडेस लाग्ने।
• बाहिरी गारो, सिसा, गह्रौं दराजनिर नबस्ने।
• घर बाहिर भए घर, बिजुलीको लाइन, पुलबाट टाढा बस्ने, सडकबाट खुला मैदानतिर लाग्ने।
• गाउँतिर खुला ठाउँमा भए खोला र नदीको किनार, ठूला रूख भएको र पहिरो आउन सक्ने ठाउँतिर नबस्ने।
• भुइँचालोपछि धेरै पटक धक्का आइरहन सक्ने हुनाले सावधान रहने।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %