तनँहु जिल्ला निर्वाचन क्षेत्र नम्बर एकमा विभिन्न पार्टीबाट ८६ जना राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् । तनँहुको आँबुखैरेनीमा भदौ १९ गते आयोजित क्षेत्रीयस्तरको प्रशिक्षण कार्यक्रममा नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा जनमुक्ति पार्टी संघीय परिषद सदस्य राजवंशी चौधरीले पार्टी सदस्यता प्रदान गरे । पार्टी प्रवेश गरेर सदस्यता लिनेहरुमा एमाओवादी काँग्रेस र एमालेका स्थानीय नेता तथा कार्यकर्ता रहेका छन् ।
राष्ट्रिय आदिवासी जनजाति महासंघका इन्चार्ज तथा जनमुक्ति संघीय परिषद सदस्य कर्णबहादुर सुनारीले प्रशिक्षण दिँदै आफ्नो पार्टी निकट भविष्यमै मुलुकको सबै भन्दा ठूलो पार्टी हुने ठोकुवा गरे । माओवादी, काँग्रेस र एमाले जस्त पार्टी त्यागेर जनमुक्तिमा प्रवेश गर्नेहरु दिन दुई गुणा रात चार गुणा बढीरहेको सुनारीले कार्यक्रममा उल्लेख गरे ।
कार्यक्रममा संघयि परिषद वैकल्पिक सदस्य केस तथा जिल्ला इन्चार्ज हस्तबहादुर थापा, संघीय सभाका सदस्य पूर्णबहादुर गुरुङ्ग, कार्यवाहक जिल्ला अध्यक्ष मन्दरी आले, संगठन सचिव भक्तबहादुर थापा, कोषाध्यक्ष क्या. भीमबहादुर थापा लगायतले अबको निर्वाचनदेखि तनहुँ जनमुक्तिको गढ हुने उल्लेख गरे । राजमुपा क्षेत्र नम्बर एकका अध्यक्ष रुपबहादुर थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा इन्द्रबहादुर मास्की रानाले स्वागत मन्तब्य राखेका थिए ।
