संघीय शासन र समावेशी नीति मार्फत मधेशी जनताका मूक्तिका लागि स्व गजेन्द्र नारायण सिँहले स्थापना गरेको नेपाल सदभावना पार्टी फेरी विभाजित भएको छ । सभासद मोतिलाल दुगडले नव नेपाल निर्माण पार्टी गठन गरेपछि सद्भावना पार्टी विभाजित भएको हो । दुगडले भदौ १५ गते सभामुख सुवासचन्द्र नेम्वाङ्गलाई नयाँ पार्टी गठन बारे जानकारी दिएका थिए ।
यहि पार्टीबाट मन्त्रीपरिषदको सिफारिसमा सभासद बनेका श्यामसुन्दर गुप्ताको संविधानसभा सदस्यता यसअघि नै खारेज भईसकेको छ । दुगडको पार्टीले नयाँ पार्टी खोलेपछि संस्थापनमा सरिता गिरी मात्रै सभासद रहेका छन् । गिरी पार्टी अध्यक्ष पनि हुन । संविधानसभामा पार्टी संख्या ३२ पुगेको छ । प्रधानमन्त्री निर्वाचनमा भने उनीहरु दुबैले डा बाबुराम भट्टराईलाई भोट हालेका थिए । गजेन्द्र नारायणको निधनपछि यो पार्टी एक दर्जन भन्दा बढी पटक विभाजित भईसकेको छ ।
यसैवीच संस्थापन पक्षले भने सभासद दुगड मन्त्री बन्नका लागि पार्टी फुटाउने षड्यन्त्रलगायत अन्य पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै उनलाई पार्टीको साधारण सदस्यतासमेतबाट निलम्बन गरेको छ । भदौ १५ गते पार्टी सहकार्यालय सचिव जोगनारायण चौधरीद्वारा जारी विज्ञप्तिमा उनलाई कारवाही गरिएको उल्लेख छ ।
