
२१ वर्ष पहिले राष्ट्रिय जनमुक्ति पार्टीले स्वायक्तता सहितको संघीय व्यवस्थाको माग गर्दा कसैले पनि पत्याएनन् । तर पछि हाम्रै मुद्दालाई लिएर एमाओवादीले हतियार उठायो । माओवादीले गरेको संघीयताको कुरामा आदिवासी जनजाति लगायत पिछडिएका वर्ग आर्कषित भए ।
अहिले पनि राज्य पुर्नसंरचना र संघीयताको विषयमा अन्य ठूला दल भन्दा एमाओवादी स्पष्ट पाएको छु । सबै भन्दा पहिला संघीयता सहितको राज्यपुर्नसंरचनामा जानुपर्छ भन्ने मुद्दा उठाउँदै आएको राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्षको हैसियतले भन्छु संघीयता र राज्यपुर्नसंरचनाको मुद्दामा हामी माओवादीसँग नजिक छौं ।
अर्का उम्मेदवार रामचन्द्र पौडेललाई अयोग्य भन्न खोजेको होइन । व्यक्तिगत रुपमा पौडेल पनि मेरो पुरानो मित्र हुनुहुन्छ । तैपनि काँग्रेसले राज्य पुर्नसंरचनाको सम्बन्धमा आफ्नो धारणा स्पष्ट नगरेको हुनाले पौडेलसँग नजिक हुँदा हुँदै पनि मुलुकको नीतिगत कुरामा उहाँसँग सहमत हुन सकिएन ।
संघीयता राज्यपुर्नसंरचना र जनजातिको अधिकार र लगभग-लगभग निर्वाचन प्रणालीको सम्बन्धमा पनि हामीसँग माओवादीको धेरै कुरा मिल्ने भएकाले अस्ति बसेको राष्ट्रिय जनमुक्ति पार्टीको वैठकले माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीमा भोट निर्णय गरेको थियो ।
एमाओवादी ठूलो पार्टी मात्रै नभएर शान्ति प्रकि्रयाको एक पक्ष पनि हो । शान्ति प्रकि्रयाको प्रमुख पक्ष वा मुख्य खेलाडी भएकाले पनि शान्ति र संविधान टुँगो लगाउने जिम्मेवारी माओवादीको हो । उसले शान्ति प्रकि्रया र संविधान निर्माणसम्बन्धी कार्यतालिका पनि ल्याएको हुनाले हामीले भोट भट्टराईलाई दिने निर्णय गर् यौं ।
(एमाओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईलाई प्रधानमन्त्रीमा भोट दिनुअघि व्यवस्थापिका संसदको वैठकमा गरिएको राष्ट्रिय जनमुक्ति पार्टी अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापा मगरको सम्बोधन)
