
सभ्य मानव समाजले कल्पना गर्नसम्म नसक्ने घट्ना एउटा बाबुले घटाएको विरोधमा पर्वत जिल्ला भरीका शिक्षण संस्था बन्द रहेका छन् । आफ्नै बाबुले दुई छोरीलाई जिउँदै खोलामा फालेर हत्या गरेको घटनामा शोक प्रकट गर्दै पर्वतका सम्पूर्ण शिक्षण संस्थामा पठनपाठन बन्द गरिएको छ । निजी विद्यालयहरुको छाता संस्था प्याब्सनको आह्वानमा साउन २९ गते जिल्ला भरीका शिक्षण संस्थामा बन्द गरिएको हो ।
साउन १५ गते राती १० बजे कृष्ण शर्मा तिवारीले आफ्नै छोरीहरु ८ वर्षीय नविना र ६ वर्षीय नमुनाको क्रुरतापूर्वक हत्या गरेको प्रहरी सामु स्विकारेका छन् । दुबै जना सदरमुकाम कुश्माबजारस्थित राष्ट्रिय बाल शिक्षा सदन माविमा अध्ययनरत थिइन् । कक्षा २ मा पढ्ने नविना र कक्षामा १ पढिरहेकी नमुनालाई यसरी हत्या गरेपछि पर्वत मात्रै होइन सिँगो मुलुक स्तब्ध बनेको छ । नमुना र नविनाकी जेठी दिदी भने भाग्यवश काकाको घरमा रहेकाले बाँचेकी छन् ।
प्रहरीलाई दिएको बयानमा तिवारीले आर्थिक अवस्था कमजो भएका कारण यस्तो जघन्य अपराध गरेको बताएका छन् । तर उनको आर्थिक हैसियतले यस्को सिधै खण्डन गरेको छ । उनी आफै केही महिना पहिला इराक गएर फर्केका थिए भने श्रीमती इजरायलमा छिन् । गत जेठमा श्रीमती घर आउँदा पोखरामा रु २३ लाखमा घडेरी किनेको आफन्तहरुले जानकारी दिएका छन् । छोरीहरुलाई मारेर आएपछि तिवारीले ४ ५ जनाको समूहले अपहरण गरेको र रु १ लाख फिरौती मागेको भनेर दुनियाँलाई गुमराहमा राख्न खोजेका थिए ।
आफ्नै २ छोरी मारेको अभियोगमा तिवारी पक्राउ
