
धनकुटा हात्तिखर्क-२ का लोकेन्द्र तिगेला लिम्बुको ‘राजनीति र इतिहासको शृङखला’ नामक कविता संग्रह सार्वजनिक गरिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका नेता कुमार लिङदेनले साउन २७ गते अनामनगरस्थित अनिजको कार्यालयमा उत्त कृतिको विमोचन गरेका हुन ।
२०३८ र २०४९ सालमा गाविस अध्यक्ष बनेका तिगेलाको पुस्तकमा संग्रहित ३४ वटै कविता राजनीति र ऐतिहासिक सन्दर्भको वरीपरी घुमेको छ । ८८ पेजको पुस्तकमा समेटिएका ‘महिशपाल गोपालवंश पनि किरात नै थिए’, ‘किरात सभ्यता उदय’, ‘खटपटीमा परेका जनजातिहरु’, ‘लिम्बुवानसँगको सन्धि’, ‘व्राहमण विकास’ जस्ता शीर्षकबाट पनि कविताहरुको भावार्थ सहजै आँकलन गर्न सकिन्छ । उमेरले ६ दशक पार गरिसकेका तिगेलाले २०५४ सालमा ‘मानव उत्पत्ति र खेवा वंशावली’ (संयुक्त) प्रकाशित गरेका थिए ।
अनलाइन नेपाली साहित्य मंच(www.nepaliLiterature.com)का प्रधान सम्पादक विश्वास दीप तिगेलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचारकर्मी तथा साहित्यकार कृष्णराज सर्वहारीले शुभकामना मन्तव्य दिएका थिए भने राजकुमार दिक्पालले कार्यक्रम संचालन गरेका थिए । विश्व नेपाली साहित्य महासंघले प्रकाशित गरेको पुस्तकको मुल्य नेपालमा रु १२५ र विदेशमा पाँच अमेरिकी डलर राखिएको छ ।
तिलिसरा राना मगर\काठमाडौं
