२३ साउन
सञ्चारकर्मीहरुले मिडियामा आदीवासी जनजातिहरुको पहुच अभिवृद्धिका साथसाथै जनजाति पत्रकारहरुको क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । पत्रकारहरुको संख्यात्मक वृद्धिले मात्र आदिवासी जनजातीका मुद्दा र उनीहरुको पहुच मिडियामा अपेक्षा अनुरुप पुग्न नसक्ने भन्दै उनीहरुले क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताएका हुन् ।
नेपाल आदिवासी जनजाती पत्रकार संघ अनिजको १३ औं स्थापना दिवसका अवसरमा अनिज रुपन्देहीले बुटवलमा आयोजना गरेको “मिडियामा आदिवासी जनजातीको आवाज” विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने सञ्चारकर्मीहरुले यस्तो बताएका हुन् । आदिवासी जनजातिका मुद्दाहरुले सञ्चारमाध्यममा यथोचित स्थान पाएको बताउदै उनीहरुले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाएकाछन् । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल संयोजक मोहन चापागाईले आदिवासी जनजातीको हकमा महासंघले लिएको नीति लचिलो रहेको स्पष्ट पार्दै पत्रकारहरुको क्षमता बिस्तार गर्दै अघि बढे चाहे अनुरुपको उपलब्धि हासिल गर्न सकिने बताए ।
नेपाल आदिवासी जनजाती महासंघ रुपन्देहीका अध्यक्ष होमबहादुर गलामीले हीनताबोधका कारण आदिवासी जनजातीहरु पछाडि परेको र यसको मुख्य कारक सामन्ती राज्यव्यवस्था रहेको उल्लेख गर्दै सबैको समान अधिकार स्थापित गर्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवालीले आदिवासी जनजातिका गतिविधि र उनीहरुका मुद्दालाई सञ्चार माध्यमले महत्वका साथ उठान गरेको बताए । आदिवासी जनजाति पत्रकार संघ (अनिज) का केन्द्रिय सदस्य सरु रानाले सरकारी तथा अन्य संचार माध्ययमा मातृभाषामा कार्यक्रम प्रकाशन, प्रशारणको ब्यवस्था गर्न सरकार संग माग गरे ।
कार्यक्रममा तिलोत्तमा दैनिकका सम्पादक रामराज पोख्रेल, रेडियो नमस्तेका स्टेशन म्यानेजर डायलसन अधिकारी, रेडियो जागरणका स्टेशन म्यानेजर शिवजी गायक, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, रिपब्लिकाका समाचार प्रमुख यानेन्द्र जिसी, नया भावना दैनिकका सह–सम्पादक लक्ष्मण पौडेल लगायतले आदिवासी जनजाती भित्र पनि पछाडि पारिएकाहरुको आवाजलाई प्राथमिकता साथ उठाउनु पर्नेमा जोड दिएका थिए ।
अनिज रुपन्देहीका उपाध्यक्ष हिक्मत चौधरीको अध्यक्षतामा सचिव टेकबहादुर मास्की,को संचालन, सहसचिव आशिष सुर्यवंशीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
गोविन्द घर्ती
