
राज्यको हरेक निकायमा आदिवासी जनजाति महिलाको समानुपातिक सहभागिताको माग गर्दै राष्ट्रिय आदिवासी जनजाति महिला मचले राजधानीमा विशाल र्याली निकालेको छ । साउन २३ गते निकालिएको दवाव र् याली भद्रकाली मन्दिरदेखि सुरु भई सहिदगेट नयाँसडक रत्नपार्क त्रिचन्द्र कलेज हुँदै कमलादीमा पुगेर सभामा परिणत भएको थियो ।
मचका गंगा खासु मगरले आदिवासी जनजाति महिलाको राजनीति प्रशासनिक क्षेत्र राज्यको नीति निर्माण गर्ने क्षेत्रमा प्रतिनिधित्व कम भएको हुँदा ती क्षेत्रमा सम्बन्धित महिलालाई समावेशीका आधारमा सम्मानजनक सहभागिता गराउनका लागि दबाब मुलुक कार्यक्रम आयोजना गरेको जानकारी दिएका छन् ।

महिलाका लागि आरक्षित कोटा टाठाबाठा समुदायका महिलाका लागि मात्रै भईरहेको सन्दर्भमा माचले दवाव मुलुक कार्यक्रम सार्वजनिक गरेको हो । यद्यपि उनीहरुले स्पष्ट रुपमा आफ्ना माग प्रस्तुत गर्न भने सकेनन् ।
र् यालीमा सहभागीहरुले ‘धर्म निरपेक्ष राज्य कायम गर’, ‘आदिवासी जनजाति महिलाका मुद्दा संविधानसभामा समावेश गर’, ‘आदिवासी जनजाति महिलाका पहिचान सहित पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर’ भनी लेखिएका प्लेकार्ड बोकेका थिए ।

र्याली सम्पन्न भएपछि आयोजित सभामा स्थानीय विकास मन्त्री उर्मिला अर्यालले महिलाहरु अधिकार खोसेर लिन अघिसर्नु पर्ने धारणा राखेका थिए ।
यसैगरी कार्यक्रममा मचकी महासचिव सोनी लामा, जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी, महासचिव आङकाजी शेर्पा, जनजाति विद्यार्थी महासंघका नरबहादुर गुरुङ्ग लगायतले आआफ्ना धारणा राखेका थिए ।
तिलीसरा राना मगर
