पर्वत जिल्लाको लिमिठाना गाविस वडा न। ९ का भक्तबहादुर भण्डारीले हँसिया प्रयोग गरी आफ्नै श्रीमती मीना भण्डारी र काकी पर्ने ६५ वर्षीया हरिकला भण्डारीको घाँटी रेटेर हत्या गरेका छन् । भण्डारीले घरायसी झगडा भइरहेका बेला घरमा नै रहेकी श्रीमतीलाई पहिलो प्रहार गरी ज्यान लिएका थिए ।
भण्डारीको आक्रमणबाट आमा धनसरी भण्डारी र भाइबुहारी नाता पर्ने पवित्रा भण्डारी गम्भीर घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएपश्चात् थप उपचारका लागि जिल्ला अस्पतालतर्फ लगिएको छ ।
हँसिया प्रहार गरी फरार रहेका अभियुक्त भक्तबहादुर भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक ज्ञानबहादुर सेट्ठीले जानकारी दिएका छन् । अभियुक्त भण्डारी कुर्घा गाविसको उल्लेरी पुगेका बेला स्थानीय गाउँलेले समातेर प्रहरीलाई बुझाएका थिए ।
