रोल्पा साउन– ८
गए राती रोल्पाको खुमेल गाविसमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ । राती १० वजेतिर खुमेलबाट गजुल तर्फ जादै गरेको लु २ त ९६२ नम्बरको ट्याक्टर खुमेल ४ खर्कखारामा दुर्घटना हुदा खुमेल गाविस ३ का २० वर्षीय भुपेन्द्र रोका र सोही स्थानका २० वर्षीय चम्फासिंह रोकाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
विना ट्रलीको ट्याक्टर सडकबाट करिव २० मिटर तल खस्दा ती २ जनाको च्यापिएर मृत्यु भएको हो । दुर्घटनामा परी ५ जना घाइते भएका छन् । दुर्घटनामा परी खुमेल ५ का टोपेन्द्र घर्तीमगर, सोही स्थानका भुपेन्द्र गिरी, नविन गुरुङ, दाङ नारायणपुरका दिल बहादुर खड्का र दाङ सेवार बस्ने ठाकुर चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भई रहेको छ । ट्याक्टर चालक गिरीराज महरालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ भने हेल्पर फरार रहेको बताइएको छ । दुर्घटनाको खबर पाए लगतै इलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी गजुलबाट प्रहरीको टोली घटना स्थलमा पुगेको थियो ।
हीरा बहादुर घर्तीमगर
