
डेढ दशकदेखि निरन्तर घरेलु हिँसा विरुद्धमा काम गर्दा पनि खासै चर्चामा नआएकी चरीमाया तामाङ्गलाई यतिबेला सम्मान ग्रहण गर्न भ्याईनभ्याई छ । उनी सम्मानित हुनुमा भने अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले प्रदान गरेको पुरस्कारको भूमिका महत्वपूर्ण छ ।
अमेरिकी विदेश मन्त्रालयले सम्मान गरेपछि नेपालमा मानव बेचबिखन विरुद्धको काम गरेर समाज परिवर्तनका लागि महत्वपूर्ण योगदान पुर् याएको भन्दै महिला तथा बालबालिका बेचबिखन विरुद्धको सहकर्मी समूह नेपाल साउन ६ गने राजधानीमा सम्मान गरेको हो । सम्मानसँगै चरीमायाले रु एकलाख पाँच हजार रुपैयाँ नगद समेत प्राप्त गरेकी छन् ।
१९९६ फेब्रुअरी ५ का दिन चरीमाया समेतका दुईसय नेपाली महिलालाई भारतीय प्रहरीले छापा मारेर भारतको मुम्बईस्थित विभिन्न वेश्यालयबाट उद्धार गरेको थियो । तर मुम्बईबाट झण्डै पाँच महिनापछि अर्थात् सन् १९९६ जुलाई २२ तारिखका दिन मात्र उद्धार गरिएका ती महिलालाई नेपाल फर्काइएको थियो । भारतमा बेचिएका चेलीको उद्धार गरिएको त्यही मिति अर्थात् जुलाई २२ कै अवसर पारेर आज चरीमाया र उहाँ समेत १५ जना बेचबिखनमा परेका महिलाले स्थापना गरेको शक्ति समूहलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा चरीमायाले भारतमा बेचिएका महिलामा एचआइभी\एड्स लागेको हुन्छ भन्ने हल्लाकै कारण नेपाली समाजमा खुलेर काम गर्न आफूहरुलाई असहज भएपछि सुरुका केही समय लुकेर हिँड्नु परेको पिडादायी अनुभव सुनाइन ।
