राष्ट्रिय जनमुक्ति पार्टीले अन्य पार्टीहरुसँग एकता प्रकि्रया अगाडि बढाउन कार्यदल गठन गरेको छ । राजधानीमा जारी पार्टीको संघीय परिषदको वैठकले साउन ६ गते परिषदका केन्द्रिय उपाध्यक्ष केपी पालुङ्वाको संयोजकत्व पाँच सदस्यीय कार्यदल गठन गरेको पार्टीका प्रचार प्रसार विभाग प्रमुख टोप अस्लामीले जानकारी दिएका छन् ।
अन्तर पार्टी संजाल तथा जनसम्पर्क विभाग प्रमुख पालुङ्वा संयोजक रहेको कार्यदलमा उपमहासचिव चन्द्र श्रीस, स्थायी समिति सदस्य खिलध्वज थापा र संघीय परिषद सदस्यहरु मिना घिसिङ्ग र डिके सूर्यवंशी सदस्य रहेका छन् ।
साउन ५ गतेदेखि शुरु वैठक राजनीतिक एजेण्डमा प्रवेश गरेको छ । वैठकले फेडरल हाउस गठन विधि समेत पारित गरेको छ ।
संघीय परिषदमा ३३ प्रतिशत महिला
संघीय परिषदमा ६ महिला सहित ८ जना मनोनीत भएपछि परिषद महिला नेतृहरु ३३ प्रतिशत भन्दा बढी भएका छन् । वैठकले समिना खातुन (बारा), अम्बिका चौधरी (सप्तरी), नेत्रकला गुरुङ्ग (नवलपरासी), रन्जना चौधरी (सिरहा), भुइचल लामा (काभ्रे) पुर्णमाया पुलामी (नवलपरासी) र सवी (मेयाङ्बो) सुनसरीलाई संघीय परिषदको सदस्यमा मनोनयन गरेको छ । यसैगरी हरि थापा (सुर्खेत) र पदम जबेगु (झापा) पनि संघीय परिषद सदस्यमा चयन भएका छन् । पार्टीको विधान अनुसार संघीय परिषदमा ६५ सदस्य रहने भएपनि ६ सदस्य थप्न बाँकी रहेको छ ।
नेता अस्लामीका अनुसार वैठक साउन ७ गते सकिदैछ ।
