२ जुलाई हंगकंग,
२०१२ मा हुन गैरहेको संसदिय निर्वाचनका लागि हङकङ सरकारको मूख्य दल डिएभीले नेपाली समूदायमा छिरेर खुब तडकभडक देखाईरहेकोछ । चिनिया सरकारको अन्ध समर्थकको रुपमा परिचित डिएभीले अन्य दलको तुलनामा नेपाली समूदायभित्र सबैभन्दा बढी खेल्ने गरेकोछ । उसले बनाएको एथ्निक मयोरिटी कमिटी मार्फत यहाँ बसोबास गरिरहेका विदेशीहरुबीच सम्बन्ध बढाइरहेकोछ । प्रभाव जमाइरहेकोछ । त्यसका लागि उसले कहिले कुनै संस्था मार्फत भ्रमण कार्यक्रमका लागि रकम उपलब्ध गराउने, कहिले भेटघाट कार्यक्रमका लागि द्रब्य छर्कने गरेकोछ । त्यसमध्ये नेपाली संघसंस्थाहरुलाई अलि बढी नै डिएभीले प्राथमिकतामा राखको देखिन्छ ।
हंङकङमा सबैभन्दा बढी रहेको मानिएको नेपाली समूदायलाई यसरी प्रभावमा पार्न खोज्नु स्वाभाविक पनि हो । त्यसमाथि नेपाली समूदायलाई विश्वासमा लिन अन्य समूदायलाई भन्दा धेरै सजिलोछ । नेपालीको बराबर संख्यामा रहेको भनिएको भारतीय र त्यस्तै ठूलो संख्यामा रहेका पाकिस्तानीहरु प्रायश सत्ताको विपक्षमा देखिन्छन् । तर नेपाली त्यसको उल्टो चरित्रका छन् ।

यसअघि बुद्धि बहादुर क्षेत्रीको अध्यक्षतामा चलेको नेपाली बाहुन क्षेत्री संस्थाको रुपमा परिचित हिन्सलाई मात्र भाउ दिने गरेको डिएभीले अहिले त्यसरी प्रभाव नपरेपछि अन्य जातीय संस्थाहरुलाई पनि पकडमा ल्याउन शुरु गरेकोछ । ९० प्रतिशत जनजाति बसोबास गर्ने हङकङमा उनीहरुलाई नसमाते वित्यास पर्छ भनेर यस्तो गरिएकोछ । नेपालीहरु जातीय रुपमा एकजुट छैनन् भन्ने बुझेका उनीहरुले यस्तो रणनीति अपनाएकाहुन् । त्यसैले विभिन्न जातीय नेताहरुलाई समातेर डिएभीले आफ्नो राजनीति विस्तार गरिरहेकोछ ।
डिएभीले प्रयोजन गरेका कार्यक्रममा अचम्मका कुराहरु पनि देखिन थालेकाछन् । यसै क्रममा २ जुलार्इमा याउ मा तेइ कम्यूनिटी हलमा तमु एसोसिएसन हंगकंगको आयोजनामा गुरुङ संस्कृति र नेपाली भेषभूषा नामक एक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एक सदस्यले जानकारी दिए अनुसार उक्त कार्यक्रम डिएवि पार्टीले प्रायोजन गरेको हो । त्यसैले होला कार्यक्रममा डिएवि पार्टीबाट प्रतिनीधित्व गरेका स्थानीय डिस्टिक काउन्सलरहरु बेनी योगं र क्रिस्ट दुवै जनालाई बोल्न दिइएको थियो भने प्रमुख अतिथि बनाइएका हंगकंगका लागि नेपाली महाबाणिज्यदूत विनोद प्रसाद उपाध्यय लाई भने बोल्नै दिइएन । कार्यक्रम आयोजकलाई स्वदेशको सरकारको प्रतिनीधि भन्दा विदेशी एउटा सामान्य क्षेत्रीय प्रतिनीधि महत्वपूर्ण रहेको देखियो । प्रमुख अतिथिलाई बोल्न नदिइएपछि अरुले त बोल्न पाउने कुरै भएन । भर्खर नेपालबाट आएका बयोबृद्ध सगरमाथा आरोही तथा सद्भावना राजदूत बिशेष अतिथि मिन बहादुर थकालीले पनि त्यो मौका पाएनन् ।
स्थानीय डिस्टिक काउन्सलरहरु बेनी योगं र क्रिस्ट (दाँया बाँया)
कार्यक्रममा थुप्रै संस्थाका प्रतिनिधि लगायत सांस्कृतिक कार्यक्रम भएकोले होला दर्शकहरुको राम्रै उपस्थिति रहेको थियो । डिएभीका ती स्थानीय नेतालाई सुनाउन होला अध्यक्ष अर्जुन गुरुङले समापन सम्बोधन पनि धेरै जसो अंग्रेंजीमा गरेका थिए र नेपालीमा थोरै मात्रै बोलेकाथिए । सचिव युवराज गुरुङ पनि कार्यक्रम सञ्चालन कसरी गर्ने भनि घरी घरी दोधारमा देखिन्थे । त्यसैले बेलाबखत कार्यक्रम विग्रने गरेकोथियो । सहसचिव दुर्गा गुरुङले स्वागत मन्तब्य दिएका थिए भने संघलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्तिहरुलाई पनि सम्मान पत्र प्रदान गरीएको थियो ।
विभिन्न जातिको भेषभूषा प्रदर्शन गरीएको थियो र गाइने गीत र नाचिने गीत धेरै जसो गुरुङ भाषामा थियो । शुरुमा गुरुङ भाषामा गाइएको सामूहिक गीतलाई उद्घोषण गर्दा गुरुङहरुको राष्ट्रिय गीत भनिएता पनि त्यो गीतको भाब नबुझेर एक जना गुरुङ सदस्यलाई सोध्दा यो जातिगत गीत मात्रै हो राष्ट्रिय गीत कसरी हुन्छ भनी उल्टै प्रतिप्रश्न गरेकाथिए । एकजना गुरुङ प्रतिनीधिको भनाईमा कार्यक्रम आयोजक मध्ये धेरै टाठाबाठा एमाओवादी समर्थक रहेकोले उनीहरुले माओवादी नजिकको भातृसंगठन तमुवान मुक्ति मोर्चाले बनाएको पार्टीको गीतलाई राष्टिय गीतको रुपमा प्रस्तुत गरेकाथिए भनि कानेखुसी गरेकाथिए । कार्यक्रममा माओवादी नजिकका कार्यकर्ताहरुको सक्रियताका कारण हुनसक्छ अन्य दलका गुरुङहरुलाई असन्तुष्टि बनाएकोथियो ।

स्मरण रहोस यस अघि मगरसंघ हङकङले यस्तै कार्यक्रम डिएभीका एथ्निक मयोरिटिज अध्यक्ष र एकजना सभासदलाई बोलाएर आयोजन गरेकोथियो । त्यसैगरि जनाधार नभएकोले हुनसक्छ, हिन्सलाई भने डिएभी मार्फत एउटा भ्रमण कार्यक्रमको लागि रकम उपलब्ध गराइएको बताइन्छ ।
भीम थापा मगर
