मधेसी यस्तो दलित र जनजाति खै कस्तो कस्तो !!!

Read Time:6 Minute, 40 Second

राज्यसत्ता इन्भेष्टिगेटिभ ब्यूरो
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्ना मागलाई सरकारले वेवास्ता गरे ‘असामान्यरुपमा’ प्रस्तुत हुने निर्णय गरेपछि फेरि एकचोटी नेपाली राजनीतिका पहाडे जातीवादीहरु थरर हुन थालेकाछन् । दलित जनजातिले जायज माग उठाउदा साम्प्रदायिक हुने तर मधेसीले उठाउदा ‘भयंकर राम्रो’ हुने ठूला दललाई मधेसी मोर्चाले फेरि वार्गेनिङ गर्न थालेकोछ ।
मधेसी दलहरुको टाउकोमा दिल्लीको हात छ भनेर बुझेका ‘ठूला दलका ठूला नेताहरु’ तिनलाई यसो घुर्दा पनि दिल्लीले हप्काउछ कि भनेर चुँइक्क बोल्दैनन् । मधेस आन्दोलनमा आफ्ना एक दर्जन भन्दा बढी फुर्तिला कार्यकर्ता र केन्द्रिय स्तरका नेताहरु धमाधम मारिदिएपछि अलि अलि चुरीफुरी गर्ने एमाओवादी नेताहरुको पनि मधेसी नेताहरुका अगाडि बक फुक्दैन । माओवादीले हिंजो गौर र लहानमा खुनको होली खेल्ने आफ्नो कट्टर दुश्मन मधेसी जनअधिकार फोरमलाई काखमा त्यसै लुट्पुताएको होइन । उपेन्द्र यादव प्रचण्डका लागि ७ महिने बच्चा जस्तै हुन् जस्ले च्याँ गर्नासाथ प्रचण्डको छाती रसाईहाल्छ ।
उनलाई प्रचण्डले शुरुमा परराष्ट मन्त्री दिए । अहिले उपप्रधानमन्त्री नै टक्रयाएकाछन् । उनी ठुस्किदा उनले मन्त्री संख्या पनि बढाइदिए । उनी हाँच्यू गर्दा उनी आफ्नो गाडी टिपेर उनकै महलमा पुगी टाउको सुम्सुम्याउन थालि हाल्छन् । कुल मिलाएर यादव र दाहालको हिजोको खुँखार मारामार अहिले आमा छोराको साईनोमा परिणत भएकोछ । यो त्यसै भएको होइन । मधेसी बिच्किए बित्यास पार्छन् भनेर यसो भएको हो ।
उता महन्थ ठाकुर लहानमा गर्जदा काठमाण्डौमा पानी पर्छ । जेपी गुप्ता राजविराजमा कुर्लदा राजधानीका तारे घरका सिसा हल्लिन्छन् । राजेन्द्र महतो विरंगमा उफ्रदा काठमाण्डु थर्कन्छ । नवलपरासी गएर पत्रकार जम्मा गरि दुईचार शब्द ओकल्न नपाउदै ह्दयेशको बाणीको कमाल सत्ताधारीहरुको अनुहारमा देखिन शुरु गरिहाल्छ ।
यति शक्तिशाली छन् मधेसी नेताहरु नेपाली राजनीतिमा । दिल्लीबाट कुनै नेता यस्ता छैनन् जो नआउदा मधेसी नेताहरुको सामु नउभिऊन् । त्यसैले दिल्ली दाहिना भएका मधेसी नेताहरुको अगाडि थुरुथुरु काप्छन् हाम्रा ‘राष्टवादी क्रान्तिकारी’हरु । सबै दिल्ली विना केहि नहुने ठान्ने हाम्रा नेताहरु मधेसको नाम सुन्नासाथ लत्रक्क लत्रिनाका कारण त्यहि हो । मधेसी मोर्चाले पूर्व पश्चिम रेलमार्ग, हुलाकी सडक, मधेस आन्दोलनमा ज्यान गुमाएका व्यक्तिको नाममा विद्यालय खोल्न ५०-५० लाख विनियोजन, मधेस स्मृति प्रतिष्ठान निर्माणलगायतमा माग अघि सारेको छ । यो माग बजेटमै समेटिनुपर्ने उनीहरुको मागका अगाडि ठूला नेताहरुका बक फुक्छ कि फुक्दैन देखिनेनैछ । गिरिजाप्रसाद कोइराला जस्ता कसैको अगाडि शीर नझुकाउनेले त मधेसमा आगो बलेपछि संविधानमा संघीयता छिराउनुपर्याथ्यो अरुका के विसात । यी त त्यसै लर्याक लुर्युक पर्ने नै होलान ।

मधेसीका नेता जति वटा दल भएपनि एकजुट हुन्छन् । तर  दलित र जनजातिका नेताहरु  सबैलाई एउटै खाल्डोमा हाल्ने खालका छन् । न ति एक अर्काको कुरा सुन्न सक्छन् न मिलेर आन्दोलन गर्न नै सक्छन् । मधेसी नेताहरुको खल्तिमा सबैको एक एक वटा दल छ । तर ति मधेसी मुद्दामा कहिल्यै दुईटा हुदैंनन् तर जनजाति र दलित नेता भनेर चिनिने ठूला दलका रामभक्तहरुको भने गजब छ, चाला । ती जनजातिको मन्चमा देशै भर्खरै जनजातिको हातमा लेला कि जस्तै गरेर भिडमा कुर्लन्छन् तर मन्चबाट झर्नासाथ आफ्नो दलको इकाइ कमिटी  अध्यक्षले खाँस्नासाथ बाह् हात पर भाग्छन् । जातीय अधिकारको कुरा तिनका मुत्रनलीबाटै बाहिर जान्छ ।
गाईको मासु खाएको भन्दै देशभर जनजाति धमाधम पक्राउ परिराख्याछन् । पीडितहरुकै  लागि बनाउन थालिएको संविधान नबन्ने भो । संघीयता विलाउन थाल्यो । चार चार जना सभासदलाई पीडितहरुको कुरा उठाउदा संसदमा पनि बोल्न नदिइने भो । मार्सल लगँएर मुख थुन्न जनजातिलाई नै प्रयोग गर्न थालियो । आरक्षण सीटमा जनजाति दलित नै फेल गराइन्छ । जातीय माग राख्दा देश टुटाउन थाल्यो भन्दै बहाना बनाएर जेल कोच्न थालिएकोछ । तर दलका भेंडागोठालाहरु भने मौन छन् । खै तिनले मधेसीहरुको नयाँ गर्जन सुनेकि सुनेनन् । तर यो गर्जन सुनेपनि तिनले केहि गर्देनन् ।  बरु सदा झौं सीरक ओढेर लुट्पुटिने नै छन् । सुतेकोलाई त उठाउन सकिन्छ तर सुतेको जस्तो गरेकोलाई कस्ले सक्ने जगाउन । त्यसैले मधेसीको यत्रो आँट देखेर पनि जनजाति र दलितले केहि माखो मार्ने छाँट देखिदैन  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %