नेपाल आदिवासी\जनजाति महासंघका पूर्व महासचिव तथा त्रिभुवन विश्वविद्यालय मानवशास्त्र\तथ्याँकशास्त्र विभागका प्रमुख डा ओम गुरुङ्गले सरकारले समावेशिताको ठूलो नारा लगाएपनि व्यवहारमा आदिवासी\जनजाति महिलाको प्रतिनिधित्व हुन नसकेको बताएका छन् । राष्ट्रिय आदिवासी\जनजाति महिला सजालले राजधानीमा असार १३ गते आयोजना गरेको कार्यक्रममा गुरुङ्गले सरकारले जनजाति महिलालाई कति स्थान दियो भन्ने कुरा सरकारी तथ्याँक हेरे स्पष्ट हुने उल्लेख गरे । उनले भने, ‘अहिलेसम्म जति प्रतिनिधित्व भएको छ त्यो सबैव्यक्तिगत सम्पर्कको आधारमा हो । सरकारको नीतिगत प्रयासमा एउटा पनि जनजाति महिलाले अवसर पाएका छ्रैनन् ।’
आदिवासी\जनजाति महिलाहरुको राजनीतिक समावेशीकरणमा केन्द्रित कार्यक्रममा काँग्रेस युवा नेता गगन थापाले आदिवासी\जनजाति महिलाहरुलाई राष्ट्रिय मुद्दामा पनि बोल्न आग्रह गरे । महिला सभासदसभा ककसले कहिल्यै पनि आदिवासी\जनजाति महिलाहरुको विषयमा छलफल नै नगरेको थापाले जानकारी दिए । जबकी महिला ककसको संयोजक उषकला राई छन् ।
एमाले नेता योगेस भट्टराईले स्थानीय निकायमा महिला सहभागितामा जोड दिनुपर्ने धारणा राखे । आदिवासी\जनजाति महिलाको प्रतिनिधित्वका लागि दलहरुमा दवाव सिर्जना गर्नुवर्ने उल्लेख गरे ।
महिला सजालकी महासचिव सोनी लामाको सभापतित्वमा सम्पन्न कार्यक्रम नेपाल मगर महिला संघीकी अध्यक्ष गंगा खासु मगरले संचालन गरेकी थिइन् । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघकी सचिव यशोकान्ति भट्टचन, अधिकारकर्मी डा. कृष्णबहादुर भट्टचन, आदिवासी जनजाति मानवअधिकारवादी वकिलहरुको समुह (लाहुर्निप)की अध्यक्ष शान्तिकुमारी राई, ज्ञानेन्द्र कार्की लगायतले आदिवासी महिलाहरुको अधिकार सुनिश्चित नगरी मुलुक समृद्ध नबन्ने धारणा राखेका थिए ।
-तिलीसरा मगर/काठमाडौं

