कँचनपुर ९ असार,
दलित जनजाति पार्टीले सभामुखले मार्सल लगाएर आफ्ना पार्टीका केन्द्रीय अध्यक्षसहित चार सभासद्लाई निलम्बन गरिएको घटनाको विरोधमा आन्दोलनमा जाने चेतावनी दिएको छ । संसद्को आचारसंहिता उल्लङ्घन गरी अमर्यादित कार्य गरेको अभियोगमा दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानसहित चार सभासद चार दिनअघि सातदिनका लागि निलम्बनमा परेका थिए ।
दलित जनजाति पार्टी कँचनपुरका अध्यक्ष गोविन्द नेपालीले सभामुखले ब्राम्हणवादी चिन्तन देखाएर आदिवासी दलित समुदायका सभासद्लाई निलम्बन गरेको आरोप लगाएका छन् ।
उनले संसद्मा अर्थमन्त्रीमाथि आक्रमण हुँदासमेत निरीह देखिएका सभामुखले दलित जनजाति आदिवासी र मुस्लिम समुदायले हकअधिकारका लागि माग राख्दा निलम्बनमा पारेर गैरजिम्मेवार काम गरेको आरोप लगाए । सभामुखले आफूहरुका मागलाई सम्बोधन गर्न बेवास्ता गरी निलम्बन गरेकाले त्यसको विरोधमा देशव्यापी आन्दोलनमा जाने नेपालीले बताए ।
उक्त पार्टीले सभासद् निलम्बनको विरोधमा प्रशासन कार्यालयलाई ज्ञापन बुझाउनदेखि चक्काजामसम्मका आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।
रासस
