पोखरा ३० जेठ
बिग एफ एमको आयोजनामा असार ६ गतेदेखि दोश्रो संस्करणको खुला गायन प्रतियोगिता, “भर्जिन मोबाइल बिग आइकन २०११” हुने भएको छ । संगीत क्षेत्रमा कदम चाल्ने चाहना भएका प्रतिभाहरुको खोजी गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गर्न लागिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बिग एफ एमका स्टेशन म्यानेजर अमित रिजालले जानकारी दिए । दोश्रो संस्करणको बिग आइकनमा ३९ जिल्लाका ६ सय ३० जना प्रतियोगीले भाग लिने छन । गत बर्षको पहिलो संस्करणमा ४ सय ६५ जनाले सहभागीता जनाएकोमा म्याग्दीका गगन पुन विजेता बन्न सफल भएका थिए । विजेता पुनको पहिलो एल्बम ‘गगन’ छिटै बजारमा आउने तयारीमा रहेको छ ।

भर्जिन मोबाइल शोरुमको मुख्य प्रायोजनमा आयोजना गर्न लागिएको भर्जिन मोबाइल बिग आइकन २०११ को बिजेताले टीभीएसको १ लाख ५० हजार मुल्य वरावरको मोटर साईकल प्राप्त गर्नेछ भने उप—विजेताले एम.एस.आइ.को ल्यापटप प्राप्त गर्ने रिजालले जानकारी दिए । आजका पुस्तामाझ पोखरा र आसपासबाट संगीत क्षेत्रमा कदम चाल्ने चाहना भएका प्रतिभाको खोजी र उत्कृष्टको छनौट नै प्रतियोगिताको लक्ष्य रहेको उनले बताए । प्रतिष्पर्धालाई गहिरो चाखका साथ रेडियो सुनेर, आफुलाई मन परेकालाई मत दिएर, प्रतिष्पर्धाको फाइनलमा उपस्थित भएर आदि तरिकाले स्रोता सुभेच्छुकको सहभागिता सुखद रहेको एफ.एम.ले बताएको छ ।
सानो स्तरको लगानी र क्षेत्रीय प्रचारमा सिमीत संस्थाले गर्ने यस्ता पहलहरुले कसैलाई रातारात स्टार बनाउने र उसको सुखद भविष्यको ग्यारेन्टी कहिल्यै लिन सक्दैन भन्दै रिजालले कार्यक्रमको सबैभन्दा प्रारम्भीक पहल भनेको गायन क्षमता भएका प्रतिभाको पहिचान गराइदिने र उनिहरुका बारेमा बजारीकरण गरिदिनु नै रहेको बताए ।
यति ठूलो प्रतियोगिता यसअघि पोखरामा नभएकाले आफनै कर्मबाट सिक्दै आइरहेको बताउँदै उहाँले भन्नुभयो ‘कार्यक्रमको निरन्तरता अब एफ.एम.को दक्षतासंग मात्रै नजोडिएर संगीत क्षेत्रलाई माया गर्ने र यसमा लाग्न चाहनेहरुको सपनासंग पनि जोडिएकोले चुनौती थपिएको छ ।’ विग आइकनलाई एउटा विशिष्ट मञ्चका रुपमा स्थापीत गराउने प्रयासलाई सहयोग गर्ने सम्पूर्णलाई एफ.एम.ले आभार समेत व्यक्त गरेको छ ।
गायन प्रतिभाको छनौटका लागि नियमीत रुपमा तीनजना संगीतकर्मी निर्णायकका रुपमा रहनुहुनेछ । उत्कृष्ट १० सम्मको छनौटका लागि निर्णायकमा सर्बाधिकार रहनेछ भने १० बाट दुई सम्मको निर्णयमा निर्णायकहरुको अग्राधिकार रहनेछ । यसमा स्रोताको मतदानको ४० प्रतिशत निर्णयको अधिकार राखिनेछ । अन्तिम दुईमध्ये सर्बोत्कृष्टको छनौट भने पूर्णत स्रोताको एस.एम.एस. मतदानका आधारमा मात्रै हुनेछ । असार ६ गतेबाट पोखरास्थित मेरिल्याण्ड पार्टी प्यालेसमा शुरु हुने अडिसन १९ चरणको हुनेछ । प्रतिष्पर्धा सकिन करिब दुई महिना लाग्नेछ भने साउनको अन्तिम सातामा “भर्जिन मोबाइल बिग आइकन २०११” को अन्तिम नतिजा घोषणा गरिने एफ एमले जनाएको छ । प्रतियोगितासंग सम्बन्धीत सम्पूर्ण कार्यक्रमहरु बिग एफ.एम. १०१.२ मेगाहर्ज तथा यसको इन्टरनेट संस्करण एफएमविग डट कम बाट संसारभरि प्रत्यक्ष तथा रेकर्ड प्रशारण गरिनेछ ।
प्रतियोगिता सफल पार्न मुख्य प्रायोजकको रुपमा भर्जिन मोवाइल शोरुम काठमाण्डु र सिता भवन पोखरा रहेका छन । त्यस्तै सहयोगीहरुमा पोखरामा भर्खरै सेवा शुरु गरेको मेगा बैङक लिमिटेड ए एस बि अटोमोबाइल्स नयावजार ,एम एस आई कम्प्यूटर तथा ल्यापटप, प्रभात आर्टस नयाबजार , किङ्गस इन्स्टीच्यूट नयाबजार , होटल बाराही लेकसाइड, एमडीज रेष्टुराँ चिप्लेढुङ्गा, एसके साउण्ड र मेरिल्याण्ड पार्टी प्यालेस बास्तोला थर रहेका छन । मिडिया पार्टनरमा सगरमाथा टेलिभिजन, एजुकेशन सन्सार डट कम, आदर्श समाज राष्ट्रिय दैनिक र नभ्यता पत्रिका रहेका छन ।
गीता राना
