गोरखा, २७ जेठ
गोरखामा बिहीबार सुटुक्क माओवादी नेता डा बाबुराम भट्टराई गुटका कार्यकर्ताहरुको अलग्गै भेला सम्पन्न भएको छ । बाबुरामका पक्षधर मानिने सुनिल पौडेलको प्रमुख आतिथ्यतामा चितवनको दारेचोकमा भेला बोलाइएको हो ।
भेलामा चितवन, गोरखा, तनहुँ र लमजुङका गरी १७० जनाको सहभागिता रहेको बताइन्छ ।
पछिल्लो समयमा एमाओवादीका तीनवटै गुटको प्रभाव गोरखा जिल्लामा बढेको छ । संस्थापन पक्षमा नेतृत्व तहका मानिसहरु धेरै छन् भने तल्ला तहमा बाबुरामका केही कार्यकर्ता छन् ।
बाबुरामको पक्षमा सभासद् ज्ञानेन्द्र कुमाल र राज्य समिति सदस्य यानप्रसाद भट्ट खुलेरै देखा परेका छन् । एमाओवादीलाई अहिलेको अवस्थासम्म बाबुरामको चिन्तनले ल्याएको उनीहरुले दाबी गरेका छन् ।
एमाओवादी पार्टीभित्र आन्तरिक कारवाहीमा परेका अधिकांश कार्यकर्ता बाबुरामको पक्षमा उभिएको बताइएको छ ।
