काठमाडौ, जेष्ठ २५
नेपाली जनता दल औपचारिक रुपमा विभाजित भएको छ । दुई जना सभासद् रहेको उक्त पार्टीमा पटक-पटक विवाद भइरहेको सार्वजनिक हुँदै आएको थियो ।
सभासद विश्वनाथ अग्रवालले पार्टी फुटाएका छन् । नयाँ पार्टीको नाम जनता दल युनाइटेड राखिएको छ । अग्रवालले सभामुख सुवास नेम्वाङसँग भेटेर पार्टी विभाजित भएको औपचारिक सनाखत गराएका छन् । पार्टी अध्यक्ष हरिचरण साहले विभिन्न भ्रष्टाचार जन्य गतिविधि गरेको अग्रवालले आरोप लगाए । उनले अध्यक्ष साहको दवाब थेग्न नसकेर ‘उकुस मुकुस’ भएर आफू पार्टी विभाजन गरेको बताए । ४० सदस्यीय केन्द्रीय समिति मध्ये आफूसँग १७ जना रहेको अग्रवालले बताए । संविधानसभामा दलको संख्या ३० पुगेको छ ।
जनता दलका अर्का सभासद् गायत्री साह रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा निलम्वित छन् । अग्रवाल अध्यक्ष रहेको नयाँ पार्टीको सह अध्यक्षमा नरेन्द्रनाथ देव, उपाध्यक्षमा किरणकुमार मगर, सचिवमा रञ्जनराज श्रीवास्तव, कोषाध्यक्षमा नरेश केशरी र प्रवक्ता कुमार पौडेल छन् ।
