काठमाडौं, वैशाख २२
लक्ष्मण थारुले नेतृत्व गरेको थरुहट स्वायत्तः राज्य परिषद्ले जेठ १४ गतेभित्र संविधान जारी नभए जेठ १५ गतेबाट थरुहट प्रदेशमा छुट्टै राज्य सञ्चालन गर्ने घोषणा गरेको छ ।
परिषद्ले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर कुनै पनि हालतमा जेठ १४ गते संविधान जारी गर्नुपर्ने स्पष्ट धारणा राख्दै संविधानसभाको म्याद थप आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिएको हो। परिषद्ले जेठ १४ गते अघि नै संविधान जारी गर्न दबाब सिर्जना गर्ने उद्देश्यले अगामी वैशाख २७ गतेबाट दुई दिने थरुहट बन्दसहितको तीन साता लामो आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरेको छ।
घोषित आन्दोलनको कार्यक्रमअनुसार वैशाख २७ गते प्रचारप्रसार र वालपेन्टिङ गर्ने, २८ गते मसाल जुलुस निकाल्ने, वैशाख २९ र ३० गते थरुहट बन्द गर्ने, जेठ ५ देखि १४ गतेसम्म कैलाली, कन्चनपुर, बर्दिया, बाँके, दाङ, नवलपरासी, सिराहा, सप्तरी, उदयपुर, सुनसरी र चितवनामा थरुहट सेनालाई तालिम दिने, मजदुर, महिला, विद्यार्थी, किसान, ब्यापारी र कर्मचारको भेला गर्ने लगायतका छन्।
जेठ १४ गते कुनै पनि हालतमा संविधान जारी हुनैपर्ने भन्दै पत्रकार सम्मेलनमा अध्यक्ष थारुले त्यसो नभए थरुहट प्रदेशमा छुट्टै राज्य सञ्चालन गर्ने त्यसक्षेत्रबाट राज्यले उठाउने कर प्रदेशमै उठाई त्यसलाई परिचालन गर्ने स्पष्ट पारे।
राज्यले थरुसहित विभिन्न समुदायसँग विभिन्न समयमा गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै त्यसो नगरिए उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी स्वयं राज्यले लिनुपर्ने चेतावनी पनि दिए।
