काठमाडौँ, १९ फागुन
एकीकृत नेकपा (माओवादी) ले स्थायी समिति सदस्य कृष्णबहादुर महराको नेतृत्वमा वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले सो कुराको निक्र्योल गरेको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
उनका अनुसार नेता महरा वरिष्ठ उपप्रधानमन्त्री एवम् सूचना तथा सञ्चार मन्त्रीका रूपमा सरकारमा सहभागी हुने निश्चित भएको छ । । यसबाहेक एमाओवादीले १० वटा मन्त्रालय लिने बताइएको छ । अन्य मन्त्रालय र मन्त्रीहरुको नाम भने आजै अपराह्न ४ बजे पुनः बस्ने स्थायी समिति बैठकले टुङ्गो लगाउने प्रवक्ता शर्माले बताए ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुल्मी महोत्सव उद्घाटनमा जानुपर्ने भएकाले बैठक ४ बजेसम्मका लागि स्थगित गरिएको र उहाँ फर्केपछि पुनः बस्ने बताइएको छ ।
