सुकुम्वासी वस्तीमा–प्रहरी हस्तक्षेप १३० टहरा जलाइयो

इटहरी, १८ माघ

सुनसरीको हाँसपोसा गाविस–८ स्थित सुकुमारी खोला किनारमा अनधिकृत रुपमा अर्काको जमिन अतिक्रमण गरी निर्माण गरिएका १३० घरटहरा आज बिहान आगजनी गरी हटाइएको छ ।

एक महिनाअघि पनि प्रहरीले सो स्थानमा अनधिकृत रुपमा बनाइएका सुकुम्बासीका घर टहरा भत्काएको थियो ।  प्रहरीले सो स्थानमा घरटहरा नबनाउन आग्रह गरे पनि पुनः सुकुम्बासीहरुले घरटहरा ठड्याएकाले आज पनि प्रहरीले बल प्रयोग गरी ती घरटहरामा आगजनी गरिदिएको हो ।

घर टहरा हटाउने क्रममा सुकुम्बासीहरु उत्तेजित भएपछि छजनालाई प्रहरीले नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय इटहरीमा राखेको छ । पक्राउ पर्नेहरुमा सन्दीप राई, सञ्जय तामाङ, सुनिता राई, मेनुका राई, आशकुमार राई र प्रभात राई रहेका छन् ।

सुनसरी जिल्लाको विभिन्न स्थानमा सुकुम्बासीहरुले व्यक्तिगत तथा सार्वजनिक जमिन ओगटेर घर टहरा बनाउने कार्य गरिरहेका छन् । पटकपटक प्रहरीले त्यस्तो वस्ती हटाउने कार्य गरे पनि पुनः ती ठाउँमा घरटहरा बनाउनाले सुकुम्बासी समस्या चर्किने सम्भावना बढेर गएको छ ।

सुकुम्बासीले बनाएका घरटहरा हटाउन जनपथ र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिका बैठकले त्यस्ता ठाउँमा बनाइएका घरटहरा हटाउने निर्णय भएकाले प्रहरीले सुकुम्वासीले बनाएका घरटहरा हटाउने कार्यलाई तिव्रता दिंदै आएका छ ।