तीन दलीय उच्चस्तरीय बैठक गोकर्ण रिसोर्टमा सुरु

काठमाडौँ, १२ माघ

राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका बारेमा निर्णायक छलफल गर्न प्रमुख तीनदलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय बैठक काठमाडौँस्थित गोकर्ण रिसोर्टमा सुरु भएको छ ।

एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरु सहभागी सो बैठकमा ती दलहरुले शान्ति प्रक्रिया र नयाँ संविधान लेखनमा आगामी दिनमा आफ्नो पार्टीले गर्ने कामको  ‘रोडम्याप’ प्रस्तुत गर्ने र साझा निष्कर्षसमेत निकालिने बताइएको छ ।

राष्ट्रपति डा रामवरण यादवले सहमतीय सरकार गठनका लागि दिनुभएको पाँचदिनको समयावधि आज सकिँदैछ । ती तीन दलका शीर्ष नेताहरु राष्ट्रिय सहमति कायम गर्न द्विपक्षीय, त्रिपक्षीय छलफलमा जुटिरहेका छन् ।

शीर्ष नेताहरुबीचमा नयाँ सरकार गठन  सहमति नजुटेमा व्यवस्थापिका–संसद्ले बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्नेछ । यसका लागि व्यवस्थापिका–संसद्को हिजोको बैठकले प्रधानमन्त्री निर्वाचन कार्यसञ्चालन नियमावली संशोधन प्रक्रियालाई बहुमतले पारित गरेको थियो ।