प्रधानमन्त्री निर्वाचनको व्यवस्था संशोधन गर्न पाच सदस्यीय उपसमिति गठन

काठमाडौ, पुस २९

व्यवस्थापिका संसदको कार्य व्यवस्था परामर्श समितिले नियमावलीको प्रधानमन्त्री निर्वाचन सम्वन्धित ब्यवस्था संशोधन गर्नका लागि पाँच सदस्यिय उपसमिति गठन गरेको छ ।

कार्यव्यवस्था परामर्श समितिको बिहीबार दिउँसो बसेको बैठकले माओवादीका एकराज भण्डारी, कांग्रेसका राधेश्याम अधिकारी, एमालेका अग्नि खरेल, सद्‍भावनाका अनिल झा र जनता दलका गायत्री साह रहेको समिति गठन गरेको हो । समितिलाई बिहीबारै बसेको संसदको बैठकले उपसमितिलाई अनुमोदन गरेको छ । उपसमितिले माघ ३ गते बस्ने संसदको अर्को बैठकमा पेश गर्ने गरी संशोधन प्रस्ताव तयार पर्नेछ ।

कानुन मन्त्री प्रेमबहादुर सिंहका अनुसार कार्यव्यवस्था समितिले प्रधानमन्त्री निर्वाचनको नयाँ प्रकृया भएकाले सुरुमा नियमावलीको धारा ३८ ९२० अनुसार राष्ट्रपतिबाट सहमतिको सरकार निर्माणको आहवान हुने सहमति भएको छ ।

उपसमितिले नियमावलीमा रहेको तटस्थ बस्न पाइने र एक जना मात्र उम्मेदवार रहेपनि बहुमत नल्याएसम्म चुनाव गराइ रहनुपर्ने व्वस्थामा संशोधन गर्नेछ । यी दुई व्यवस्थाका कारण १६ पटकसम्मको निर्वाचनमासमेत मुलुकले प्रधानमन्त्री पाउन सकेको थिएन ।