कार्यदलको बैठक बिना निष्कर्ष टुङ्गियो

काठमाडौँ, २८ पुस

नेपालको शान्ति प्रक्रियामा सघाउँदै आएको राष्ट्रसङ्घीय मिसन (अनमिन)को बहिर्गमनपछि मुलुकमा जारी शान्ति प्रक्रियालाई कसरी अघि बढाउने भन्ने विषयमा सुझाव दिन गठित कार्यदलको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।

आज सिंहदरबारमा बसेको कार्यदल बैठकमा अनमिनको बहिर्गमनपछि अनमिनले गर्दै आएको कार्य कसरी गर्ने भन्नेसम्बन्धमा सहमति जुटाउने प्रयास गरिए पनि ठोस निर्णय हुन नसकेको बैठकपछि कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए ।

बैठकमा आफूहरुले अनमिनलाई सानो आकारको प्राविधिक एकाई बनाएर वा उसको कार्यादेश घटाएर केही समयका लागि म्याद थप्नुपर्ने प्रस्ताव राखेको जानकारी पनि सदस्य पुनले दिए  ।

मुख्य तीन राजनीतिक दलको सहमतिमा गठित कार्यदलले समग्र शान्ति प्रक्रियामा सहयोग पु¥याउने भएकाले अनमिनको म्याद थप गर्नु आवश्यक नरहेको भनाइ बाँकी दलहरुको रह्यो ।

अघिल्लो साता बसेको एनेकपा (माओवादी), नेपाली काँगे्रस र नेकपा (एमाले)का शीर्ष नेताहरूको बैठकले अनमिनको बहिर्गमनपछि मुलुकको शान्तिप्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा कार्यदल गठन गरेको थियो ।

कार्यदलमा एनेकपा माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ र वर्षमान पुन, काँगे्रसबाट डा मिनेन्द्र रिजाल र कृष्ण सिटौला तथा एमालेबाट गृहमन्त्री भीम रावल र ईश्वर पोखरेल रहेका छन ।

यही पुस ३० गतेदेखि अनमिन फर्केपछि नेपालको शान्ति प्रक्रियालाई कसरी टुङ्गोमा पु¥याउन सकिन्छ भन्ने सम्बन्धमा गठित सो कार्यदलले जतिसक्दो चाँडो सहमति कायम गर्ने प्रयास गरिरहेको जनाइएको छ ।

त्यसअघि बसेको सेना समायोजनसम्बन्धी विशेष समितिको बैठक पनि एकीकृत नेकपा (माओवादी)ले आज प्रधानमन्त्रीको निर्वाचन भएकाले बैठक सार्न आग्रह गरेपछि स्थगित भएको थियो ।