प्रधानमन्त्री निर्वाचनमा सहमति गर्न साना १७ दलको आग्रह

काठमाडौँ, २७ पुस

संविधानसभामा प्रतिनिधित्व गर्ने साना सत्र दलको संयुक्त बैठकले भोलि हुने प्रधानमन्त्री निर्वाचनमा सहमति कायम गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

आज सिंहदरबारमा बसेको ती दलको बैठकले प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहमति कायम गर्न दबाब सिर्जना गर्ने र प्रजातान्त्रिक धार जीवित नरहने अवस्था आउने हो भने संसदमा सूचना दिएर अनुपस्थित रहने निर्णय गरेको बैठकपछि दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले जानकारी दिए ।

संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भोलिको प्रधानमन्त्री निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री निर्वाचनको कार्यसूची नरहने भनाइ संविधानको भावना विपरित भएको निष्कर्ष पनि सो बैठकले निकालेको उनले बताए  ।

बैठकमा भोलिको निर्वाचन समाप्तिपछि नयाँ प्रक्रिया सुरु भएमा प्रधानमन्त्रीका लागि डा बाबुराम भट्टराई, केपी ओली, विजय गच्छदारलगायतका नेताहरुको नाम दबाबस्वरुप अघि सार्ने सहमति भएको जनाइएको छ । ती दलको संयुक्त बैठक भोलि बिहान बसेर ठोस निर्णय लिने पनि अध्यक्ष पासवानले जानकारी गराए ।