२८ दलको वैठकद्धारा कार्यदलले टुंग्याएका सवै विषय समितिको प्रदिवेदनलाई अनुमोदन

काठमाडौँ, २१ पुस

संविधानसभामा प्रतिनिधित्व गर्ने २८ राजनीतिक दलको आजको बैठकले संविधान लेखनका सन्दर्भमा गठन भएको कार्यदलले सबै विषयगत समितिको प्रतिवेदनमा गरेको प्रगतिलाई अनुमोदन गरेको छ ।

संवैधानिक समितिको प्रतिवेदनमा दलहरुबीच खासै विवाद नभएकाले जुन ढङ्गले कार्यदलमा सहमति भएर  प्रतिवेदन आएको थियो, त्यसैअनुसार आजको बैठकले अनुमोदन गरेको जानकारी नेपाली काँग्रेसका नेता रमेश लेखकले  दिए ।

न्याय प्रणालीसम्बन्धी प्रतिवेदनमा दलहरुबीच सामान्य मतमतान्तर देखिए पनि कार्यदलका सबै  प्रतिवेदनलाई २८ राजनीतिक दलको बैठकले अनुमोदन गरेको नेता लेखकले बताए ।

आजैको बैठकबाट दलहरुबीच विगतमा सहमति हुन नसकेका ८३ वटा विषयलाई सहमतिका लागि नयाँ संविधानको नाम के राख्ने भन्ने विषयबाट प्रारम्भ भएको उनले वताए  ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले उच्चस्तरीय कार्यदलमा भएको सहमतिलाई टुङ्ग्याउने काम २८ राजनीतिक दलको बैठकले गरेको बताए  ।

एनेकपा (माओवादी)का सचेतक पोष्टबहादुर बोगटीले विभिन्न विषयगत समितिका प्रतिवेदनमा सहमति हुन बाँकी ८३ वटा विषयलाई शासकीयस्वरुप समितिको प्रतिवेदनबाट आरम्भ गर्ने जानकारी दिए ।