चौतारा, २६ मङ्सिर
सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले संविधानसभालाई असफल बन्न दिनु नहुने बताएका छन्
सिन्धुपाल्चोकको चौतारामा आज पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आगामी छ महिनाभित्र जसरी भए पनि नयाँ संविधान बन्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले बन्न नसकेमा देश दुर्घटनातिर जाने हुँदा संविधानसभाको विकल्प खोज्नु नहुनेमा जोड दिए ।
सङ्घीयतामा बहुलवाद अनिवार्य हुने र सबैभन्दा पहिले सङ्घीयताको कुरा गर्ने माओवादी हो भन्दै मन्त्री पोखरेलले साँच्चै नै बहुलवाद नमान्ने हो भने त्यस्तो सङ्घीयतामा लोकतन्त्र नभई एकात्मक हुने बताए ।
एक प्रश्नको उत्तरमा मन्त्री पोखरेलले लोकतान्त्रिक शक्तिहरूसँग मिलेर माओवादीलाई सहकार्यमा ल्याउन नेकपा एमालेले पहल गरिरहेको चर्चा गर्दै माओवादी शान्तिप्रक्रियामा आउनेमा आफू विश्वस्त रहेको बताए ।
