बस दुर्घटनामा चारको मृत्यु, २४ घाइते

फलेवास (पर्वत), १८ मङ्सिर 

बाग्लुङबाट म्याग्दीतर्फ जाँदै गरेको ध१ख २७५ नं.को मिनि बस आज बिहान पर्वत जिल्लाको धाइरिङ गाविस–२ मा दुर्घटना हुँदा बसमा सवार तीन यात्रुको घटनास्थलमै र एकजनाको उपचारका क्रममा बाग्लुङ अस्पतालमा मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

    दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ । गम्भीर घाइतेको थप उपचारका लागि पोखरा पठाइएको छ ।

    अन्य घाइतेलाई म्याग्दी र बाग्लुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरी छ । घटनास्थलमा पर्वतबाट प्रहरीकोे टोली पुगेको छ भने उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    उक्त बस म्याग्दीको गलेश्वरमा शतबीज छर्नका लागि भक्तजन लिएर हिँडेको थियो ।
    गम्भीर घाइतेमध्ये चारको सनाखत भएको छ । उनीहरू सवै बाग्लुङ नगरपालिकाका–११ का बासिन्दा हुन् । रासस