सिटिभिटीको २२ करोड अनुदान रोकियो

भक्तपुर, १६ मङ्सिर

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को हालै संशोधित विनियम पारित नहुँदा स्वीस सरकारको सहयोगमा सञ्चालन हुने तीन वर्षे सीप परीक्षण विकास कार्यक्रम रोकिएको छ ।

     राष्ट्रिय सीप परीक्षण समितिले सिटिइभिटी कार्यक्रमअन्तर्गत सन् २०११ देखि सन् २०१४ सम्म सञ्चालन हुने कार्यक्रम रोकिएको समितिका निर्देशक चन्द्रभक्त नकर्मीले बताए ।

    सन् २०११ देखि २०१४ सम्म सञ्चालन गरिने कार्यक्रमको रुपरेखा तथा प्रतिवेदन समितिले तयार पारिसके पनि विनियम पारित नहुँदा स्वीस सरकारसमक्ष प्रतिवेदन बुझाउन नपाएको निर्देशक नकर्मीले बताए  ।

    स्वीस सरकारकै सहयोगमा सन् २००७ देखि २०१० सम्म समितिले सञ्चालन गरेको सो कार्यक्रम प्रभावकारी भएपछि यसै कार्यक्रमलाई निरन्तरता दिन स्वीस सरकारले थप सम्झौता गरी बजेटसमेत पठाइसकेको छ ।

    सीप परीक्षणका क्रममा मूल्याङ्कन गर्ने व्यक्तिहरुलाई मानव संशाधन विकास गर्न, प्रश्नपत्र निर्माण, भौतिक पूर्वाधार निर्माण, मानव स्रोत एवम् जनशक्ति विकास,  क्षमता अभिवृद्धिजस्ता तालिम सञ्चालन गरिने कार्यक्रम रहेको थियो ।

    सन् २०१२ देखि सञ्चालन गर्ने गरी कार्यक्रम प्रस्ताव पेस गर्न नसके रु २२ करोडको अनुदान स्वीस सरकारले फिर्ता लैजाने भएको छ । रासस