सहमति नजुटदा कार्यदलको वैठक स्थगित

काठमाडौँ, १६ मङ्सिर 

नयाँ संविधान निर्माणमा देखिएका विवादित विषयमा सहमति जुटाउन गठित उच्चस्तरीय संयन्त्र कार्यदलको आज बिहान सिंहदरबारमा बसेको बैठकमा संविधानको आधारभूत विषयमा छलफल भए पनि सहमति कायम हुन सकेन ।

    बैठकमा एकीकृत नेकपा (माओवादी) ले बहुलवादलाई कुनै हालतमा स्वीकार नगर्ने अडान लिएको थियो भने नेपाली काँग्रेस, नेकपा (एमाले) लगायतका दलहरुले अहिलेको सामाजलाई बहुलवादबाट मात्र अघि बढाउन सकिने तर्क राखेका थिए ।

    त्यसैगरी संविधानको नाम राख्ने विषयमा समेत एकमत हुन सकेन ।

    माओवादीले ‘जनताको सङ्घीय गणतान्त्रिक संविधान’ राख्नुपर्ने सुझाव राख्यो भने अन्य दलले ‘सङ्घीय गणतन्त्र संविधान’ राख्नुपर्र्नेे धारणा राखे ।

    त्यसैगरी मौलिक हकअधिकार र राज्यका निर्देशित सिद्धान्तअन्तर्गत हदवन्दीभन्दा बढी जग्गाको मुआब्जा दिने वा नदिने र १८ वर्ष उमेर पुगेका प्रत्येक नागरिकलाई सैन्य तालिम अनिवार्यरुपमा दिने कि नदिने भन्ने विषयमा पनि राजनीतिक दलबीच मतभिन्नता नै रह्यो ।

    बैठक भोलि पुनः बस्ने गरी टुङ्गिएको छ ।