काँग्रेस सभापति कोइरालाद्वारा पदाधिकारी मनोनयनका लागि छलफल

Read Time:2 Minute, 52 Second

काठमाडौँ, १२ मङ्सिर । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले केन्द्रीय समितिमा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनका लागि आज बिहान पार्टी नेताहरुसँग छलफल गरे  ।

    महाराजगन्जस्थित आफ्नै निवासमा सभापति कोइरालाले पार्टी नेताहरुसँग छलफल गरे ।

छलफलको क्रममा पार्टीमा बृहत्तर एकता कायम गरी सबै क्षेत्र र वर्गका नेता, कार्यकर्ताको भावना समेट्न खासगरी पदाधिकारी मनोनयनका विषयमा कुराकानी केन्द्रित भएको थियो ।

    छलफलमा महामन्त्री प्रकाशमान सिंह, संसदीय दलका नेता एवम् केन्द्रीय सदस्य रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु खुमबहादुर खड्का, डा शशाङ्क कोइराला, दीपकुमार उपाध्याय, बद्री पाण्डे, जीवन परियार, मीना पाण्डे, दिलेन्द्र बडुलगायतका नेता सहभागी थिए ।

यसअघि सभापति कोइरालाले शुक्रबार पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवासँग पनि पदाधिकारी मनोनयनका सन्दर्भमा छलफल गरिसकेको बताइएको छ ।

सभापति कोइरालाले आज हुने केन्द्रीय समितिको बैठकमा पार्टी पदाधिकारी मनोनयनको प्रस्ताव प्रस्तुत गर्न सहमति र एकताका लागि सो छलफल गरेको  केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले बताए  ।

धेरै जनासँग छलफल गरेर पार्टी केन्द्रीय समितिलाई सन्तुलित ढङ्गले पूर्णता दिन सभापति कोइरालाले छलफल गर्नुभएको अर्का केन्द्रीय सदस्य खुमबहादुर खड्काले बताए  ।  

     पार्टीको १२ औँ महाधिवेशनपछि केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने क्रममा निर्वाचित सदस्यबाट एक उपसभापति, महामन्त्री र सहमहामन्त्री सभापतिले मनोनयन गर्ने विधानमा व्यवस्था छ ।

सभापतिले प्रस्तुत गर्ने पदाधिकारी मनोनयनको प्रस्तावलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै सभापतिले पाँच आरक्षण कोटा र अन्य १६ गरी २१ केन्द्रीय सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

यसअघि सभापति कोइरालाले बरिष्ठ नेता शेरबहादुर देउवालाई केन्द्रीय समितिमा मनोनित गरिसकेका छन । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %