सहमति कार्यान्वयनका लागि संयन्त्र वन्छ : सुरक्षा परिषद्का अध्यक्ष क्लाउड

Read Time:3 Minute, 57 Second

काठमाडौँ, १० मङ्सिर 

नेपाल भ्रमणमा रहेको बालबालिका तथा सशस्त्र द्वन्द्वसम्बन्धी राष्ट्रसङ्घीय सुरक्षा परिषद्को कार्यदलका अध्यक्ष राजदूत क्लाउड क्लाउड हेलरले सरकार, एनेकपा (माओवादी) र राष्ट्रसङ्घबीच हस्ताक्षरित कार्ययोजनाको कार्यान्वयनका लागि एक संयन्त्र गठन गरिने बताएका छन् ।

    भ्रमणका सम्बन्धमा जानकारी दिन आज नेपालस्थित राष्ट्रसङ्घीय भवनमा आयोजित पत्रकार सम्मेलनमा कार्यदलका अध्यक्ष हेलरले आफूहरुले नेपालका विभिन्न जिल्लामा रहेका माओवादीका शिविरहरुको स्थलगत अवलोकन गरेपश्चात् त्यस्तो संयन्त्रको आवश्यकतामा जोड दिएको बताए  ।   

    उनले त्यस्तो संयन्त्र भए विगतमा भएका सहमतिको कार्यन्वयन सहज हुने विषयमा प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा पनि छलफल भएको जानकारी दिए ।

    प्रधानमन्त्री नेपालसँग कार्यदलले आज बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा भेटवार्ता गरेको थियो ।

    अध्यक्ष हेलरले मिसनले विभिन्न मन्त्रीहरु, राष्ट्रसङ्घीय अधिकारी, एकनेपा (माओवादी) को उच्च नेतृत्व, नागरिक समाजका प्रतिनिधिलगायतसँग भएको भेट फलदायी रहेको बताए  ।  

    बालबालिकाको सेनामा भर्ती र उनीहरुलाई सेनाका रुपमा प्रयोगको विषय आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको भन्दै उनले माओवादी शिविर र माओवादी सेनाबाट बिदाई गरिएका नाबालिगहरुका लागि सञ्चालित पुनःसमायोजन परियोजनाहरुको अवलोकन गरिएको बताए  ।

    प्रतिनिधिमण्डलले गोर्खा, इलाम र मोरङ जिल्लामा रहेका शिविरको भ्रमण गरेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाइएको छ ।

    सुरक्षा परिषद्का सदस्य राष्ट्र अस्ट्रिया, फ्रान्स, जापान, रुस, बेलायत र संयुक्त राज्य अमेरिकासहितको कार्यदलको एक हप्ते मिसनले १६ डिसेम्बर २०१० मा नेपाल सरकार, एनेकपा (माओवादी) र राष्ट्रसङ्घका बीच हस्ताक्षरित कार्ययोजनाको कार्यान्वयनको प्रगतिको पनि समीक्षा गरेको पनि उनले उल्लेख गरे  ।

    विश्वभर सशस्त्र द्वन्द्वमा सहभागी बालबालिकाविरुद्ध भएका गम्भीर उल्लङ्घनका घटनाहरुको समीक्षा एवम् यस्ता उल्लङ्घनहरुका सम्बन्धमा सरकार र द्वन्द्वमा सहभागी अन्य पक्षहरुलाई सिफारिश गर्नु कार्यदलको कार्यादेश भएको बताउँदै हेलरले त्यस्ता बालबालिकाको भविष्य, भरपर्दो अवसर र चुनौतीहरुको मूल्याङ्कन पनि गरिएको जानकारी दिए  ।

    उनले कार्यदलको अध्यक्ष भएका नाताले नेपालको शान्ति प्रक्रियामा परिषद्को बलियो समर्थन रहेकोप्रति सरोकारवालाहरुलाई आश्वस्त पार्दै दलहरुले पछिल्लो पटक व्यक्त गरेको प्रतिबद्धतालाई राष्ट्रसङ्घीय सहयोगमा प्रभावकारी ढङ्गले कार्यान्वयन गरे नेपालको दिगो शान्तितर्फको यात्रामा दरिलो खुट्किलो सावित हुने विश्वास पनि प्रकट गरे  । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %