पुनरावेदन अदालतको मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस

    काठमाडौँ, १० मङ्सिर । न्याय परिषद्को आज बसेको बैठकले विभिन्न छवटा पुनरावेदन अदालतको मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

    मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिसमा पर्ने न्यायाधीशहरुमा पुनरावेदन अदालत, तुलसीपुरका विश्वनाथ जोशी, पुनरावेदन अदालत, विराटनगरका गोपाल पराजुली, पुनरावेदन अदालत, दिपायलका दीपकराज जोशी, पुनरावेदन अदालत, महेन्द्रनगरका दुर्गाप्रसाद उप्रेती, पुनरावेदन अदालत, धनकुटाका गोविन्दकुमार उपाध्याय र पुनरावेदन अदालत, नेपालगन्जका केशवप्रसाद मैनाली छन्  ।

    आजै बसेको उक्त परिषद्को बैठकले विभिन्न सातवटा पुनरावेदन अदालतका मुख्य न्यायाधीशलाई सरुवा गर्ने निर्णय पनि गरेको छ ।

    सरुवा हुनुहुने मुख्य न्यााधीशहरुमा इलामका पुरुषोत्तम पराजुलीलाई हेटौँडा, बागलुङका जागेश्वर सुवेदीलाई बुटवल, हेटौँडाका केशरीराज पण्डितलाई पाटन, राजविराजका अलिअकबर मिकरानीलाई जनकपुर, तुलसीपुरका हरिबाबु भट्टराईलाई बागलुङ, नेपालगन्जका हरिराम कोइरालालाई पोखरा र धनकुटाका हरिप्रसाद घिमिरेलाई इलाम पुनरावेदन अदालतमा सरुवा गरिएको परिषद्का प्रवक्ता नहकुल सुवेदीले जानकारी दिए  ।

 

 

रासस