उच्चस्तरीय कार्यदल वैठकले मौलिक हकका विषयमा सहमति जुटाउन सकेन

 काठमाडौँ, ३० कात्तिक 

संविधान निर्माणका लागि गठित उच्चस्तरीय कार्यदलको आज बसेको बैठकमा मौलिक हकको विषयमा छलफल भएको छ ।   

सिंहदरबारमा बसेको सो बैठकमा भूमिसुधार र हदबन्दीभन्दा बढी जग्गाको व्यवस्थाका बारेमा भएको छलफलमा दलहरू आ–आफ्नै अडानका कारण सहमति हुन सकेन ।

    बैठकमा एकीकृत नेकपा माओवादीले व्यक्तिको हदबन्दीभन्दा बढी जग्गाको क्षतिपूर्ति दिन नहुने धारणा राखेको थियो भने नेपाली काँग्रेस, नेकपा (एमाले) र अन्य दलले मुआब्जा दिनुपर्ने विचार राखेका थिए ।

   बैठकपछि पत्रकारसँग कुरा गर्दै नेपाली कांँग्रेसका रमेश लेखकले सार्वजनिक प्रयोजनका लागि राज्यले जग्गा प्राप्त गर्दा क्षतिपूर्ति दिने विषयमा सहमति भएको तर हदबन्दीभन्दा बढीको विषयमा भने सहमति नभएको बताए  ।

   माओवादी नेता देव गुरुङले सामन्तवादी प्रणालीको अन्त्यका लागि सामन्तहरूको जग्गा बिनामुआब्जा गरिब किसानलाई वितरण गरेर मात्र सामाजिक न्याय दिन सकिने धारणा राखे ।

   उच्चस्तरीय एवम् कार्य दलको अर्को बैठक भोलि बिहान बस्ने भएको छ ।

 

 

 

 

रासस