भोलि बस्ने बैठकले समाधान निकाल्छ : प्रधानमन्त्री नेपाल

ताप्लेजुङ, २८ कात्तिक 

प्रधानमन्त्री माधवकुमार नेपालले तीन दलका शिर्ष नेताहरुको भोलि बस्ने बैठकबाट शान्ति प्रक्रिया, संविधानलेखन तथा सरकार निर्माणलगायतका समस्याको निकास निस्काल्ने वताएकाछन् ।

    जिल्ला वन कार्यालय, ताप्लेजुङको नवनिर्मित भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले जनताका भावना र भविष्यलाई नेताहरुले केन्द्रविन्दुमा नराख्दा देश र राजनीतिमा अन्योलता बढेको हो भने ।

    उनले देशका समस्या समाधान खोज्न भएका उच्चस्तरीय बैठकहरुमा सबै दल आ–आफ्नो धारणामा अडिग हुँदा सहमति जुट्न नसकेको उल्लेख गर्दै भोलि पुनः बस्न लागेको बैठक भने परिणाममुखी हुने विश्वास व्यक्त गरे ।

    प्रधानमन्त्री नेपालले केही दिनअघि हात्तीवनको बैठकमा सबैले अरुको विचार पनि बुझ्ने मौका पाएको र गोकर्णको बैठकमा केही सकरात्मक सहमति भएकाले भोलिको बैठकले देशलाई नयाँ दिशातर्फ डो¥याउन सक्ने विश्वास आफूले लिएको बताए ।

    अहिले देशको प्रमुख आवश्यकता शान्ति भएको र त्यसपछि मात्र संविधान र प्रधानमन्त्री भएको कारण शान्ति निर्माणमा साना–ठूला सबै दल एक भएर अगाडि बढ्नुको विकल्प नभएको समेत प्रधानमन्त्री नेपालले स्पष्ट पारे ।