फिस्टेल एअरको हेलिकप्टर दुर्घटना, दुईको मृत्यु

सोलुखुम्बु, कार्तिक २१ 

लुक्लाबाट सोलुखुम्बुको आमाडब्लम हिमालको बेस क्याम्पका लागि उडेको फिस्टेल एअरको हेलिकप्टर आइतबार बिहान बेस क्याम्प नजिकै दुर्घटना हुँदा हेलिकप्टरमा सवार दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट लुक्ला पुगेर पर्वतारोहीलाई उद्धार गर्न गएको बेला हेलिकप्टर दुर्घटना भएको फिस्टेल एअरले जनाएको छ । दुर्घटनामा क्याप्टेन सबिन वस्नेत र इन्जिनियर पूर्ण आवालेको मृत्यु भएको छ ।

बिरामी परेका जापानी पर्वतारोहीको उद्धारका लागि गएको हेलिकप्टरमा क्याप्टन र इन्जिनियर मात्र थिए । नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख विष्णु अधिकारीले दिएको जानकारी अनुसार विहान ९ बजेर ५० मिनेटमा उक्त हेलिकप्टर आकाशबाट सिधा खंसेको थियो । प्रतिकुल मौसमका कारण १८ हजार फिट उँचाईमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको लुक्ला विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।