नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को रुपमा कार्यान्वयन गरिनुपर्ने माग

काठमाडौँ, २० कात्तिक 

राष्ट्रिय विभूति शङ्खधर साख्वाःद्वारा प्रचलनमा ल्याईएको नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को रुपमा  कार्यान्वयन गरिनुपर्ने धारणा विभिन्न राजनीतिक दलका नेताहरुले व्यक्त गरेका छन्

उनीहरुले रासससँगको कुराकानीमा यसअघिको सरकारले नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को रुपमा मान्यता प्रदान गरिसकेकाले सरकारी कामकाजको सम्वत्को रुपमा यसलाई प्रयोगमा ल्याइनुपर्ने बताए  ।
    
सभासद् तीर्थराम डङ्गोलले नेपाल सम्वत् एक नेपालीले प्रचलनमा ल्याएको नेपालको मौलिक सम्वत् हो, त्यसकारण यो सम्वत्लाई सरकारी काममा प्रयोग गरिए नेपाली जनताकै गौरव बढ्नेछ भने ।  

सभासद् मङगलसिद्वि मानन्धरले नेपाल सम्वत्ले राष्ट्रिय सम्वत्को मान्यता प्राप्त गरिसकेकाले पनि सरकारको प्रत्येक कामकाजमा यो सम्वत्लाई अभिलिखित गरिनु पर्ने बताउँदै सरकारबाट प्रकाशन हुने राजपत्र र वार्षिक क्यालेण्डरमा पनि यस सम्वत्लाई अनिवार्य रुपमा प्रयोग गरिनुपर्ने धारणा व्यक्त गरे ।

अर्का सभासद् बुद्वरत्न साय्मीले नेपाल सम्वत् चन्द्रमासलाई आधार मानेर अभ्यास गरिएकाले तिथिमितिको खोजी गर्न यो सम्वत् भरपर्दो रहेको वताए उनले भने  – सरकारले अरु राष्ट्रसँग गर्ने लेखापढीमा समेत अविलम्ब यो सम्वत्को प्रयोग गर्नुपर्दछ ।

यस वर्ष नव वर्ष नेपाल सम्वत् ११३१ लाई भोलि आईतवार देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

 

रासस