कार्यकारी प्रमुखले संवैधानिक परिषद्को नेतृत्व गर्ने

काठमाडौँ, १४ कात्तिक 

नयाँ संविधान बनाउने क्रममा उत्पन्न विवाद समाधान गर्न गठित शीर्ष नेताहरुको कार्यदलको आइतबारको बैठकले संवैधानिक परिषद् संयन्त्र बनाउने र त्यसको अध्यक्षता कार्यकारी प्रमुखले गर्ने विषयमा सहमति भएको छ ।

कार्यदलका संयोजक एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका अनुसार संवैधानिक परिषद्को नाममा फेरबदल हुन सक्ने भए पनि उक्त निकाय बनाउने र त्यसको अध्यक्षता कार्यकारी प्रमुखले बनाउने बारेमा सहमति भएको जानकारी दिए ।

यसअघि प्रधानन्यायाधीश र न्यायाधीश नियुक्त गर्ने उक्त निकाय गठनबारे दलहरुबीच सहमति जुट्न सकेको थिएन भने त्यसको नेतृत्वमा बारेमा पनि मतभेद थियो ।

दलहरुबीच उक्त संयन्त्रको अध्यक्षता सभामुख वा कार्यकारी प्रमुख कसले गर्ने भन्ने बारेमा विवाद थियो ।

उक्त निकायको कार्यक्षेत्र, संरचना र अधिकार के–कस्तो रहनेबारे भने छलफल बाँकी नै रहेको कानुन मन्त्री प्रेमबहादुर सिंहले संवाददाताहरुलाई जानकारी दिए ।

संवैधानिक व्याख्या, न्याय परिषद्लगायतका विषयमा पनि दलहरुबीच छलफल जारी रहेको कार्यदलमा रहेका काँग्रेसका सभासद् रमेश लेखकले बताए ।  बैठक भोल सोमबार पुनः बस्नेछ ।

 

रासस