चितवनमा शिक्षक र विद्यार्थीमा डेङ्गु देखिएपछि विद्यालय बन्द

चितवन ८ कात्तिक

 स्कुलका विद्यार्थी र शिक्षकमा डेङ्गुको सङ्क्रमण देखिएपछि चितवनको नारायणगढमा रहेको सिद्धार्थ इङ्गलिस बोर्डिङ स्कुल अनिश्चितकालीन बन्द भएको छ ।

चितवनमा डेङ्गुको सङ्क्रमण भएको झण्डै तीन महिनापछि यहाँ स्कुल बन्द भएको यो पहिलो हो ।

विद्यालयका पाँच विद्यार्थी र एक शिक्षकमा डेङ्गुको सङ्क्रमण भए पनि अभिभावकको दबाबमा स्कुल बन्द गरिएको जानकारी विद्यालयका प्रधानाध्यापक अजिव पौडेलले दिए ।

उहाँका अनुसार शिक्षकको चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा र अन्य विद्यार्थीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

रोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न दबाब दिने उद्देश्यले विद्यालय बन्द गरिएको अभिभावकले बताएका छन् ।

यसैबीच हिजो यहाँ भएको छलफलबाट  रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

चितवनमा हालसम्म ३५२ जनामा डेङ्गु फेला परेको छ ।

गत साउन अन्तिम सातादेखि अहिलेसम्म गरिएको परीक्षणमा ४३ जनामा लेप्टो स्पाइरोसीस र २४ जनामा एएचवान एनवान भाइरसको सङ्क्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए े ।

यहाँ झण्डै ३० प्रतिशत डेङ्गु नियन्त्रणमा आएको दाबी गरिए पनि सङ्क्रमण भने रोकिएको छैन । रासस